मर्कूस 8 - पवित्र बाइबलयेशूद्वारा चार हजार भन्दा अधिक मानिसलाई भोजन ( मत्ती 15:32-39 ) 1 अर्को एक समय येशूको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसँग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो। 2 येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसँग छन्। अनि अहिलेसम्म तिनीहरूसँग खानेकुरा केही छैन। 3 म तिनीहरूलाई भोकै तिनीहरूको घर पठाउन सक्तिन किनभने, तिनीहरू बाटामा नै बेहोश हुनेछन्। कतिजना त यहाँदेखि धेरै टाढामा बस्ने हरूछन्।” 4 येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?” 5 तब येशूले तिनीहरूलाई सोध्नु भयो, “तिमीहरूसँग कतिवटा रोटीहरू छन्?” चेलाहरूले जवाफ दिए, “हामीहरूसँग सातवटा रोटीहरू छन्।” 6 येशूले तिनीहरू सबैलाई भूइँमा बस्ने निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुक्रा पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँढ्न दिनुभयो चेलाहरूले त्यसै गरे। 7 चेलाहरूसँग केही माछाहरू पनि थिए। येशूले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँढ्नु भन्नु भयो। 8 सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे। 9 प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, यशूले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो। 10 त्यसपछि उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढेर दलमनुथाको जिल्लातिर जानुभयो। फरिसीहरूले येशूको परीक्षा लिने प्रयास गरे ( मत्ती 16:1-4 ; लूका 11:16 , 29 ) 11 फरिसीहरू येशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने। 12 येशूले लामो सास लिनु भयो अनि भन्नुभयो, “तिमीहरूले किन प्रमाणको रूपमा चमत्कार हेर्न चाहेको? म तिमीहरूलाई साँच्चो भन्दछु। कुनै यस्तो चमत्कार प्रमाणको रूपमा तिमीहरूलाई देखाइने छैन।” 13 तब येशूले तिनीहरूलाई छोड्नुभयो र डुङ्गामा चढ़नु भयो अनि समुद्रको अर्को तिर जानुभयो। येशूद्वारा यहूदी प्रमुखहरूलाई चेतावनी ( मत्ती 16:5-12 ) 14 डुङ्गामा भएको बेला चेलाहरूसँग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सेका थिए। 15 येशूले तिनीहरूलाई सर्तक गराउनु भयो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।” 16 चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसँग रोटी छैन भन्नु भएको हो।” 17 चेलाहरूले रोटीकै बारेमा कुरा गरिरहको हो भन्ने यशूले थाहा पाऊनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “रोटी छैन भन्ने बारेमा तिमीहरू किन बात गरिरहेछौ? अझसम्म तिमीहरूले नदेखेको अनि नबुझेको? तिमीहरू बुझ्न सक्तैनौ? 18 के तिमीहरूको आँखाहरूले देख्न सक्तैन? के तिमीरूको कानहरूले सुन्न सक्तैनन् के तिमीहरूलाई थाहा छैन, कि हामीसित प्रशस्त रोटी नहुँदा मैले के गरें। 19 मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडेको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। कति टोकरी उब्रेका रोटीहरू बटुल्यौ?” चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी रोटीका टुक्राहरू बटुल्यौं।” 20 “अनि त्यो पनि सम्झ कि मैले सातवटा रोटीलाई चारहजार जना मानिसहरूमाझ बाँडेको थिएँ। कतिवटा टोकरीहरूमा उब्रेका खानाहरू बटुलेका थियौ त्यो तिमीहरूलाई थाहा छ?” चेलाहरूले उत्तर दिए, “हामीले सात टोकरी बटुल्यौं।” 21 फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “यसकारण मैले गरेका ती कुराहरू सम्झ, तर अझै तिमीहरूले बुझ्न् सकेका छैनौ?” बेत्सैदामा अंन्धो मानिस निको भएको 22 येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे। 23 अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानु भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अंन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?” 24 उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिंडिरहेको देख्छु।” 25 फेरि येशूले आफ्नोहात त्यसको आँखा माथि राख्नुभयो, तब त्यो मान्छेले आफ्ना आँखा पूरा खोल्यो। उसले आफ्नो दृष्टि फेरि प्राप्त गर्यो, अनि उसले सबै कुरा स्पष्ट देख्यो। 26 येशूले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।” पत्रुस अनुसार येशू नै ख्रीष्ट हुन् ( मत्ती 16:13-20 ; लूका 9:18-21 ) 27 येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा, येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्दछन्?” 28 चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।” 29 त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?” पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।” 30 येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नु।” येशू भन्नुहुन्छ उहाँ मर्नु पर्छ ( मत्ती 16:21-28 ; लूका 9:22-27 ) 31 त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गर्नुभयो कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदी बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्। 32 येशूले पछि घट्ने प्रत्येक घट्नाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन। पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे। 33 तर येशू फनक्क फर्के र चेलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकार्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेश्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।” 34 तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुशरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ। 35 जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ। 36 किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो? 37 किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन। 38 अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससँग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसँग आउनेछु।” |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International