Online Bible

- Reklamy -

मत्ती 8 - पवित्र बाइबल


येशूले कुष्टरोगीलाई निको पार्नुभयो
( मर्कूस 1:40-45 ; लूका 5:12-16 )

1 येशू डाँडाबाट ओर्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए।

2 त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।”

3 येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।” अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो।

4 तब येशूले त्यस मानिसलाई भन्नुभयो, “हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफैं जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।”


येशूले अधिकारीको नोकरलाई निको पार्नुभयो
( लूका 7:1-10 ; यूहन्ना 4:43-54 )

5 येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे।

6 अधिकारीले भने, “हे प्रभु! मेरो नोकर पक्षघातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।”

7 येशूले ती अधिकारीलाई भन्नुभयो, “म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।”

8 अधिकारीले जवाफ दिए, “हे प्रभु! तपाईं मेरो घरमा पस्नु हुने त्यति योग्यको म छैन। तर तपाईंले एक वचन भनिदिनुहोस् र मेरो नोकर निको भइहालोस्।

9 म कसैको अधीनमा छु। अनि मेरो अधिनमा अरू सैनिकरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भनें, ‘जाऊ’ भन्दा उ जान्छ। अनि अर्को एक सिपाहीलाई मैले आउ भन्दा ऊ आँउछ। यदि मैले मेरो नोकरलाई भनें, ‘यो गर’ अनि उसले त्यो गर्छ। मलाई थाहा छ तपाईंसँग पनि यस्तो शक्ति छ।”

10 जब येशूले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, इस्राएलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइनँ।

11 धेरै मानिसहरू पूर्व र पश्चिमबाट आई पुग्ने छन् अनि तिनीहरू स्वर्गको राज्यमा अब्राहाम, इसाहाक र याकूबसँग भोजन गर्नका निम्ति मेचमा बस्नेछन्।

12 तर राज्यमा मार्ग पाउनु पर्ने मानिसहरू चाहिं तिनीहरू अन्धकार भित्र फालिनेछन्। अनि त्यो ठाउँमा मानिसहरू पीडाले रूवाबासी र दाह्रा किट्ने छन्।”

13 तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, “तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।” अनि ठीक त्यसैबला उसको नोकर निको भयो।


येशूद्वारा धेरै मानिसहरू निको पारिएका
( मर्कूस 1:29-34 ; लूका 4:38-41 )

14 येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कड़ा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो।

15 तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्।

16 त्यसै साँझ मानिसहरूले भूत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए।

17 यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो: “उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो।”


येशूका चेलाहरू
( लूका 9:57-62 )

18 येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो।

19 त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, “हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।”

20 येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।”

21 अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, “हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।”

22 तर येशूले ती मानिसलाई भन्नुभयो, “मेरोपछि लाग, मरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफैं गाडुन्।”


येशूले आँधीलाई शान्त गराउनु हुन्छ
( मर्कूस 4:35-41 ; लूका 8:22-25 )

23 येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे।

24 जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो।

25 चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, “हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौं।”

26 येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?” तब येशू उठ्नुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।

27 सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।”


येशूले भूत लागेको दुइजना मानिसहरूलाई चंगाई गर्नु भयो
( मर्कूस 5:1-20 ; लूका 8:26-39 )

28 गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुइजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भूत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिँड्ने आँट गर्दैनथे।

29 ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, “परमेश्वरको पुत्र तपाईं हामीबाट के चाहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?”

30 छेउको क्षेत्रमा सुँगुरहरूको बथान चरिरहेको थियो।

31 भूतहरूले येशूलाई बिन्ती गर्न लागे, “यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सुँगुरहरूको बथानमा पस्न दिनुहोस्।”

32 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सुँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओर्लिए। ती सबै झीलमा डुबे।

33 ती सुँगुर चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सुँगुरहरू र भूतहरूले सताएको विषयमा सुनाउन थाले।

34 तब शहरका सबै मानिसहरू येशूलाई हेर्न आए। जब मानिसहरूले येशूलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy