लूकाको सुसमाचार 3 - पवित्र बाइबलयूहन्नाको प्रचार ( मत्ती 3:1-12 ; मर्कूस 1:1-8 ; यूहन्ना 1:19-28 ) 1 सिजर तिबेरियसको पन्ध्रौं वर्षमा: पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए; अनि हेरोद गालीलका शासक थिए; तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास, अबलेनका शासक थिए। 2 जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड़ स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए। 3 तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए। 4 यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः “उजाड स्थानमा कराइरहेको आवाजः ‘परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार। 5 प्रत्येक खाल्डा पुरिनेछ, अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन, अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्! 6 सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्!’” 7 यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू सर्पहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो? 8 तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। 9 रूखहरू काट्नलाई बन्चरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउँदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।” 10 मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?” 11 यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।” 12 कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?” 13 यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्दा ज्यादा कर नउठाऊ।” 14 कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?” यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झूटो नबोल। आफूले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।” 15 सबै मानिसहरू ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरूले सोचे, “के उहाँनै ख्रीष्ट हुनुहुन्छ त?” 16 यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ। 17 उहाँ खला सफा पार्न तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नलाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।” 18 त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कुराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले। यूहन्नाको काम कसरी समाप्त भयो 19 हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए। 20 हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो। यूहन्नाद्वारा येशूको बप्तिस्मा ( मत्ती 3:13-17 ; मर्कूस 1:9-11 ) 21 जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनुभएको बेला आकाश खोलियो। 22 अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसँग अत्यन्त आनन्दित छु।” यूसुफको पारिवारिक इतिहास ( मत्ती 1:1-17 ) 23 जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस वर्ष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ। यूसुफ एलीका पुत्र थिए। 24 एली मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए। लेवी मल्कीका पुत्र थिए। मल्की यान्नाका पुत्र थिए। यान्ना यूसुफका पुत्र थिए। 25 यूसुफ मत्ताथियसका पुत्र थिए। मत्ताथियास आमोसका पुत्र थिए। आमोस नहूमका पुत्र थिए। नहूम इसलीका पुत्र थिए। इसली नग्गैका पुत्र थिए। 26 नग्गै माथका पुत्र थिए। माथ मत्ताथियासका पुत्र थिए। मत्ताथियास सेमैनका पुत्र थिए। सेमैन योसेखका पुत्र थिए। योसेख योदाका पुत्र थिए। 27 योदा योआननका पुत्र थिए। योआनन रेसाका पुत्र थिए। रेसा यरूबाबेल का पुत्र थिए। यरूबाबेल शालतिएलका पुत्र थिए। शालतिएल नेरीका पुत्र थिए। 28 नेरी मल्कीका पुत्र थिए। मल्की अद्दीका पुत्र थिए। अद्दी कोसामका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। एलमादम एरका पुत्र थिए। 29 एर् यहोशूका पुत्र थिए। यहोशू एलिएजरका पुत्र थिए। एलीएजर योरीमका पुत्र थिए। योरीम मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए। 30 लेवी शिमियोनका पुत्र थिए। शिमियोन यहूदाका पुत्र थिए। यहूदा यूसुफका पुत्र थिए। यूसुफ योनानका पुत्र थिए। योनान एल्याकीमका पुत्र थिए। 31 एल्याकीम मलेआका पुत्र थिए। मलेआ भिन्नाका पुत्र थिए। भिन्ना मत्ताथाका पुत्र थिए। मत्ताथा नातानका पुत्र थिए। नातान दाऊदका पुत्र थिए। 32 दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए। 33 नहशोम अम्मीनादबका पुत्र थिए। अम्मीनादाब आरामका पुत्र थिए। आराम हेस्रोनका पुत्र थिए। हेस्रोन फारेसका पुत्र थिए। फारेस यहूदाका पुत्र थिए। 34 यहूदा याकूबका पुत्र थिए। याकूब इसहाकका पुत्र थिए। इसहाक अब्राहामका पुत्र थिए। अब्राहाम तेरहका पुत्र थिए। तेरह नाहोरका पुत्र थिए। 35 नाहोर सरूगका पुत्र थिए। सरूग रऊका पुत्र थिए। रऊ पेलेगका पुत्र थिए। पेलेग एबेरका पुत्र थिए। एबेर शेलहका पुत्र थिए। 36 शेलह केनानक पुत्र थिए। केनान अर्पक्षदक पुत्र थिए। अर्पक्षदक शेमका पुत्र थिए। शेम नूहका पुत्र थिए। नूह लेमेखका पुत्र थिए। 37 लेमेख मतूशेलहका पुत्र थिए। मतूशेलह हनोकका पुत्र थिए। हनोक येरेदका पुत्र थिए। येरेद महलालेलका पुत्र थिए। महलालेल केनानका पुत्र थिए। 38 केनान एनोशका पुत्र थिए। एनोश शेतका पुत्र थिए। शेत आदमका पुत्र थिए। आदम परमेश्वरका पुत्र थिए। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International