योनाको पुस्तक 2 - पवित्र बाइबलतब योनाले छुटकराको निम्ति प्रार्थना गरे 1 योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे। उनले भने, 2 “मेरो कष्टको कारणले मैले परमप्रभुलाई प्रार्थना गरें अनि उहाँले मलाई उत्तर दिनुभयो। मृत्युको संसारदेखि म कराएँ, र तपाईंले मेरो बिन्ति सुन्नुभयो। 3 “तपाईंले मलाई गहिरो भित्र, समुद्रको मुटुमै फालिदिनुभएको थियो, र मेरो चारैतिर छालहरू थिए। तपाईंका भयंकर छालहरूले मलाई डुबायो। 4 तब मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु,’ तैपनि म फेरि तपाईंको पबित्र मन्दिरतिर हेर्नेछु। 5 “पानीले मलाई मेरो प्राण सम्मै घेर्यो, गहिरो सगर मेरो चारैतिर थियो, मेरो टाउको भरि समुद्रका झ्याउहरू बेहेरिएका थिए। 6 म त समुद्रको फेद सम्मै पुगें। पृथ्वीले मलाई सदाका निम्ति थुनिदियो। तैपनि हे परमप्रभु! मेरा परमेश्वर, तपाईंले खाडलबाट उठाएर मलाई जीवन दिनुभयो। 7 “मेरो प्राणले सबै आशा गुमायो। तब मैले परमप्रभुको सम्झना गरें। परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें अनि तपाईंले मेरो प्रार्थना, तपाईंको पवित्र मन्दिरबाट सुन्नु भयो। 8 “ज-जसले ब्यार्थका मुर्तिहरूतिर मन लगाउँछन् तिनीहरूले गर्नु पर्ने साँच्चो भक्तिलाई त्याग्द छन्। 9 तर म धन्यवादको स्तुति सहित तपाईंमा बलिदान चढाउने छु, मैले जेकुराको भाकल गरेको छु सो पुरा गर्नेछु।” उद्धार परमप्रभुबाटै हुन्छ! 10 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यले योनालाई किनारामा उगेलिदियो। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International