यर्मिया 40 - पवित्र बाइबलयर्मियाको छुटकारा 1 विशेष रक्षकहरूका कप्तान नबूजरदानले जब यर्मियालाई रामामा कैद मुक्त गरेका थिए तिनीकहाँ परमप्रभुबाट एउटा सन्देश आयो। तिनले यर्मियाहलाई यरूशलेम र यहूदाका मानिसहरूलाई कैदी बनाई बाबेलमा लगिरहेकाहरूसितै साङ्गलोले बाँधिएको भेटे। 2 जब नबूजरदानले यर्मियालाई भेटे, उनी तिनीसँग बात गरे। उनले भने, “यर्मिया, परमप्रभु तिम्रो परमेश्वरले यस ठाउँमा विपत्ती आउनेछ भनेर घोषणा गर्नुभयो। 3 अनि अहिले परमप्रभुले जे भन्नु भएको थियो प्रत्येक कुरो गर्नुभयो। यो सर्वनाश आइलाग्यो कारण परमप्रभुको विरूद्ध यहूदाका मानिसहरूले पाप गरेका थिए। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। यसकारण तिनीहरूलाई यस्तो भयो। 4 तर अब म तिमीलाई मुक्त गरिदिनेछु। म तिमीलाई साङ्गलाबाट मुक्त पार्छु। यदि तिमी इच्छा गर्छौ भने म सँग बाबेलतिर जाऊँ, म तिम्रो राम्रो रेख-देख गर्ने छु। तर यदि तिमी मसँग आउनँ चाहँदैनौ भनें नआऊ। हेर, सारा देश नै तिम्रो सम्मुख छ अनि तिमी जहाँ जान चाहन्छौ त्यहाँ जाऊ। 5 अथवा शापानको नाति अहीकामको छोरो गदल्याहकहाँ जाऊ। बाबेलका राजाले गदल्याहलाई यहूदाको राज्यपाल नियुक्त गरेका छन्। जाऊ गदल्याहकहाँ तिम्रा मानिसहरू माझ बस अथवा तिम्रो इच्छा अनुसार तिमी जहाँ चाहन्छौ त्यहीं जाऊ।” त्यसपछि नबूजरदारले यर्मियालाई केही भोजन र उपहार प्रदान गरे अनि बिदा गरे। 6 यसकारण यर्मिया अहीकामको छोरो गदल्याहकहाँ मिस्पामा गए। यर्मिया गदल्याहसँग मानिसहरू माझ बसे जो यहूदाको देशमा छाडिएका थिए। गदल्याहको छोटो शासन 7 यरूशलेम ध्वंस भए पश्चात केही सैन्य, अधिकारीहरू अनि तिनीहरूका मानिसहरू जो खेतमा बसिरहेका थिए, चाल पाए कि बाबेलका राजाले गरीब, र बाबेलमा कैदी बनाई नलगिएका मानिसहरूको कल्याणार्थ अहिकमेको छोरो गदल्याहलाई राज्यपाल नियुक्त गरेका छन्। 8 यसकारण ती सिपाहीहरू मिस्पामा गदल्याहकहाँ आए। ती सिपाहीहरू थिए नतन्याहको छोरो इश्माएल, कारेहका दुइ छोराहरू योहानान अनि जोनाथन, पन्हूमेतको छोरो सरायाह, नतोफाबासी एपेकाका छोराहरू, अनि माकाबासीको छोरो याजन्याह र यिनीहरूका सबैका मानिसहरू। 9 अहीकामका छोरो गदल्याहले ती सिपाहीहरूले सुरक्षित अनुभव गरून भनी तिनीहरूसित शपथ लिएका थिए गदल्याहले यही नै भने “यही ठाउँमा बस अनि बाबेलका राजालाई सेवा गर र यो तिमीहरूका निम्ति भलो हुनेछ। 10 बाबेलवासीहरू अघि जो हामीकहाँ आउँछन् तिमीहरूको प्रतिनिधित्व गर्न म आफैं मिस्पामा बस्नेछु। दाखरस, ग्रीष्मऋतुका फल, तेल जम्मा गर अनि भाँडामा राख। तिनीहरूले आफ्नो अधीनमा लिएको शहरहरूमा बस्।” 11 यहूदाका मानिसहरू जो मोआब, अम्मोन र एदोमका अनि अन्य देशहरूमा थिए तिनीहरूले चाल पाए कि बाबेलका राजाले बाँचेका मानिसहरूलाई यहूदामा छोडेका छन् र शापानको नाति अहीकामको छोरा गदल्याहलाई त्यस ठाउँका राज्यपाल नियुक्त गरे। 12 यसर्थ यहूदाका मानिसहरू जो विभिन्न ठाउँमा छरिएर बसेका थिए यहूदामा फर्के अनि मिस्पामा गदल्याहलाई भेटे। तिनीहरूले धेरै मद र ग्रीष्म ऋतुका फलहरू बटुले। 13 कारेहका छोरो योहानान अनि यहूदाका हाकिमहरू जो खेतमा थिए गदल्याहकहाँ मिस्पामा आए। 14 योहानान र अन्य मानिसहरू आएर गदल्याहलाई भने, “तिमीलाई थाह छ कि अम्मोनवंशी राजा बालीसले तिमीलाई मार्न चाहन्छ? उसले नतन्याहको छोरो तिम्रो हत्याको लागि इश्माएललाई पठायो।” तर अहीकामको छोरो गदल्याहले ती कुराहरू विश्वास गरेनन्। 15 तब कारेहका छोरो योहानानले गुप्त रूपमा मिस्पामा गदल्याहलाई भेटे अनि उनलाई भने, “नतन्याहको छोरो इश्माएललाई मार्न। कसैले पनि यस बारेमा केही पनि जान्दैनन्। तपाईंलाई मार्न उसलाई स्वतन्त्रता दिनु हुँदैन। यदि यस्तो भयो भेन यहूदाका मानिसहरू जो भेला भएकाछन् तितर-बितर हुनेछन् अनि यहूदाका सन्तान नष्ट हुनेछ।” 16 तर अहीकामको छोरो गदल्याहले कारेहको छोरो योहानानलाई भने, “इश्माएललाई नमार। जुन कुराहरू तिमीहरूले इश्माएलको बारेमा बताएका छौ ती सबै असत्य हो।” |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International