Online Bible

- Reklamy -

यर्मिया 39 - पवित्र बाइबल


यरूशलेमको पतन

1 यरूशलेमलाई कसरी परास्त पारियो यहाँ वर्णन गरिएको छ यहूदाका राजा सिदकियाहको शासनकालको नवौं बर्षको दशौं महीनामा बाबेलका राजा नबूकदनेस्सरले आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरूद्ध अघि बढे अनि त्यसलाई घेरा हाले।

2 अनि सिदकियाह राजा भएको एघारौं बर्षको चौथो महीनाको नवौ दिनमा, शहरको पर्खाल भत्काइयो।

3 बाबेलका राजाका जम्मै भारद्वारहरू भित्र आए अनि मध्य प्रवेशद्वारमा बसे। ती त्यहाँ आउने अधिकारीहरूको नाउँ यस प्रकार छ, नेर्गल-सरेसेर, समगरनबो, मुख्य अधिकारी सर्सकीम, रब-सारीस, उच्च अधिकारी नेर्गल-सरेसर, रबमाग र अन्य मुख्य अधिकारीहरू पनि थिए।

4 यहूदाका राजा सिदकियाहले बाबेलका अधिकारीहरूलाई देखे। यसकारण उनी आफ्ना सिपाहीहरू सहित राजाको बगैंचाको फाटकबाट राती भागे अनि दुइ पर्खालको बीच भएर यरूशलेम शहरबाट बाहिर आए। तिनीहरू अराबा तिर लगे।

5 कल्दीहरूका सिपाहीहरूले सिदकियाह र उनका सिपाहीहरूलाई खेद्‌दै गए अनि त्यति बेला सिपाहीहरू सिदकियाहसँगै यरीहोको मैदानमा पक्राऊ परे। तिनीहरूले सिदकियाहलाई बाबेलका राजा नबूकदनेस्सर जो हमात देशको रिबला शहरमा थिए त्यहाँ पुर्याए। रिबला शहरमा बाबेलका राजा नबूकदनेस्सरले सिदकियालाई कस्तो व्यवहार गर्नु पर्ने, बताए।

6 रिबला शहरमा बाबेलका राजाले सिदकियाहका छोरो र सबै मुख्य मानिसहरूलाई तिनकै उपस्थितिमा मारे।

7 तब नबूकदनेस्सरले सिदकियाहको आँखा निकालिदिए र उसलाई बाबेलमा ल्याउन साङ्गलाले बाँधे।

8 बाबेलका सेनाले राजाको महल अनि यरूशलेमको मानिसहरूको घरहरू जलाइदिए। अनि तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काइदिए।

9 नबूजरदान बाबेलका राजाको विशेष सैनिकका कप्तान थिए। उनले शहरमा छोडिएका बाँकी मानिसहरूलाई ज-जसले समर्पण गरेका थिए अनि अन्य जो रहेकाहरूलाई कैदी बनाई बाबेलमा ल्याए।

10 तर कप्तान नबूजरदानले यहूदाका गरीब मानिसहरू ज-जसको यहूदा देशमा केही थिएन तिनीहरूलाई छोडिदिए। यसर्थ उनले ती मानिसहरूलाई दाखबारी र खेतहरू दिए।

11 तर नबूकदनेस्सरले यर्मियाको बारेमा नबूजरदानलाई केही आज्ञा दिए। नबूजरदान नबूकदनेस्सरका खास रक्षकहरूको कप्तान थिए। आदेश यही थियो

12 “यर्मियालाई लैजाऊ र उसको हेरचाह गर। उसलाई नोक्सान नपार। उसले जे माग्छ देऊ।”

13 यसर्थ राजाका विशेष रक्षकहरूका कप्तान नबूजरदानले नबु-शजबान, रब-सारीस, रब-माग, समगरनबो, मुख्य अधिकारी सर्सकीम, नेर्गलसरसेर र सबै मुख्य अधिकारीहरू अनि बाबेल सेनाका हाकिमहरूलाई यर्मियाकहाँ पठाए।

14 तिनीहरूले यर्मियालाई प्रहारीको चोक बाहिर निकाले। बाबेल सेनाका हाकिमहरूले यर्मियालाई अहीकामको छोरो अनि शापानको नाति गदल्याहको रेख-देखमा राखे। गदल्याहलाई दिइएको आदेश अनुसार यर्मियालाई घर लग्यो, यसर्थ उनी आफ्ना मानिसहरूसँगै बसे।


एबेद-मेलेकलाई परमप्रभुको सन्देश

15 मन्दिरको चोकमा जब प्रहारीहरूले यर्मियाहलाई रेख-देख गरिरहेका थिए। परमप्रभुबाट तिनलाई एउटा सन्देश आयो। यो सन्देश यसप्रकार थियो

16 “यर्मिया तिमी कूशी मानिस एबेद-मेलेककहाँ जाऊ र यो सन्देश भन, ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, अति चाँडै म यरूशलेममा मेरो सन्देश सत्य बनाउने काम गर्छु। यो सन्देश सर्वनाश र नराम्रो कुराहरूबाट सत्य हुनेछ। तिमीले तिम्रै आँखाले प्रत्येक कुरो साँच्चो भएको देख्नेछौ।

17 तर म त्यस दिन तिमीलाई जोगाउने छु, एबेद-मेलेक।’ यो परमप्रभुको सन्देश हो: ‘जुन मानिसहरूसित तिमी डराउँछौ म तिमीलाई ती मानिसहरूसँग सुम्पने छैन्।

18 तिमी तरवारले मारिने छैनौ। म तिम्रो रक्षा गर्छु। तिमीले ममाथि भरोसा गरेकाले तिमीले तिम्रो जीवन युद्ध पारितोषक रूपमा पाउनेछौ।’” यो सन्देश परमप्रभुको हो।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy