Online Bible

- Reklamy -

यर्मिया 1 - पवित्र बाइबल

1 यी सन्देशहरू हिल्कियाहको छोरो यर्मियाका हुन्। यर्मिया एक पूजाहारी परिवारका थिए जो अनातोत शहरमा बस्दथे। त्यो शहर बिन्यामीन वंशको अधीनमा छ।

2 योशियाह यहूदाका राजा भएको समय देखि परमप्रभु यर्मियासित बात गर्न शुरू गर्नु भयो। योशियाहले सिंहासन आरोहण गरेको तेह्रौं बर्षमा यस्तो शुरू भयो।

3 योशियाहको छोरा यहोयाकीम यहूदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहूदाका राजा सिद्कियाहको राज्यकालको एघारौं बर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निर्वासन गराईयो।


परमेश्वरले यर्मियालाई बोलाउनु हुन्छ

4 परमप्रभुको यो सन्देश मकहाँ आयो:

5 “मैले तिमीलाई तिम्रो आमाको गर्भमा, गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें। तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें। मैले तिमीलाई जाति-जातिहरूमा विशेष काम गराउनु अगमवक्ताको लागि रोजें।”

6 तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।”

7 तर परमप्रभुले मलाई भन्नुभयो, “त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’ तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु। तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।

8 कसैसित नडराऊ! म तिमीसित छु, अनि म तिमीलाई उद्धार गर्नेछु।” यो सन्देश परमप्रभुबाट आएको हो।

9 तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।

10 आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिँदैछु। तिनीहरूलाई उखेल्न, भत्काउन, नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन र स्थापित गर्ने तिम्रो जिम्मामा छ।”


दुइ दृश्यहरू

11 परमप्रभुको सन्देश मकहाँ आयो। यो सन्देश परमप्रभुबाट नै आएको थियो: “यर्मिया, तिमीले के देख्छौं?” मैले परमप्रभुलाई भनें, “म हाडे बदामको काठबाट बनिएको एउटा लट्ठी देख्छु।”

12 परमप्रभुले मलाई भन्नुभयो, “तिमीले ठीकै देख्यौ। मेरो सन्देशलाई म नियालि रहेछु अनि म यो गर्नेछु।”

13 परमप्रभुको सन्देश मकहाँ फेरि आयो। परमप्रभुको सन्देश यस्तो थियो “यर्मिया, तिमीले के देख्यौ?” मैले परमप्रभुलाई भनें, “मैले उम्लिरहेको एउटा भाँडामा पानी देखें। त्यो भाँडा उत्तर पट्टि ढल्किरहेको छ।”

14 परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ। त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ।

15 म चाँडै उत्तर राज्यहरूका सम्पूर्ण मानिसहरूलाई बोलाउनेछु।” परमप्रभुले ती कुराहरू भन्नुभयो। “ती राज्यहरूका राजाहरू आउनेछन् अनि यरूशलेमको प्रवेशद्वारको छेउमा आफ्ना सिंहासनहरू बसाउनेछन्। तिनीहरूले यरूशलेम शहरका पर्खालहरूमाथि आक्रमण गर्नेछन्। तिनीहरूले यहूदाका सबै शहरहरूमाथि आक्रमण गर्ने छन्।

16 अनि म मेरा मानिसहरूका विरूद्ध न्यायको घोषणा गर्नेछु। म यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्। तिनीहरू मेरो विरोधी भएका छन्। मेरा मानिसहरूले मलाई छाडे। तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए। तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे।

17 “यर्मिया तिमी चाहिँ तैयार होऊ, उठ र मानिसहरूलाई भन। मैले दिएको प्रत्येक आज्ञाहरू तिनीहरूलाई भन। मानिसहरूसित नडाराऊ, नत्र म तिमीलाई भयभीत पार्नेछु।

18 आज म तिमीलाई फलामको खम्बा झैं अनि काँसाको पर्खाल झैं बलियो र दृढ शहर बनाउनेछु। यहूदाको राज्यमा राजाहरू, नेताहरू, पूजाहारीहरू र सर्वसाधारण मानिस प्रत्येकको सामुन्ने तिमी उभिन सक्नेछौ।

19 ती सबै मानिसहरू तिम्रो विरूद्धमा लड्नेछन् तर तिनीहरूले तिमीलाई पराजित गराउने छैनन्। किनभने म तिमीसँग छु, अनि म तिमीलाई बचाउने छु।” यो सन्देश परमेश्वरबाट आएको हो।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy