Online Bible

- Reklamy -


यशैयाको पुस्तक 62 - पवित्र बाइबल


धार्मिकताले भरिएको शहर नयाँ यरूशलेम

1 म सियोनलाई प्रेम गर्छु, यसैले म उसँग लगातार कुरा गर्ने गर्छु। म यरूशलेमलाई प्रेम गर्छु। यसैले म कुरा गर्नु रोकिने छैन। जब सम्म धार्मिकता उज्यालो बत्ती झैं चम्कदैन तब सम्म म कुरामार्नेछु। जब सम्म मुक्ति उज्यालो ज्योति जस्तै बल्दैन म बात मार्नेछु।

2 तब समस्त जातिहरूले तेरो धार्मिकता देख्नेछन्। सबै राजाहरूले तेरो गौरव देख्नेछन्। त्यसपछि तिमीले नयाँ नाउँ पाउने छौ। परमप्रभु स्वयंले तिमीलाई त्यो नयाँ नाउँ दिनुहुनेछ।

3 परमप्रभुले तिमीलाई देखेर अत्यन्त गर्वित हुनु हुनेछ। तिमी परमप्रभुको हातमा एक सुन्दर मुकुट जस्तै हुनेछौ।

4 तिमीलाई ‘परमेश्वरले त्यागेका मानिसहरू’ फेरि कहिल्यै भनिने छैन। तिमीहरूका देशलाई फेरि कहल्यै यसो भन्ने छैन, ‘परमेश्वरले नाश गर्नु भएको देश।’ तिमीहरू ‘परमेश्वरले प्रेम गर्नु भएका मानिसहरू’ भनी डाकिनेछौ। तिमीहरूको देशलाई, ‘परमेश्वरको बेहुला’ भनिने छ। किनभने परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूको देश उहाँकै सम्पत्ति हो।

5 जब कुनै जवान मानिसले एउटी स्त्रीलाई प्रेम गर्दछ, उसले त्यही स्त्रीलाई विवाह गर्छ। यस्तै प्रकारले, तिमीहरूका उद्धारक नै, तिमीहरूका स्वामी पनि हुनु हुनेछ। एकजना मान्छे आफ्नी नयाँ दुलहीसँग अति खुशी हुँदछ। यस्तै प्रकारले तिम्रो परमेश्वर तिमीसँग खुशी हुनुहुनेछ।

6 यरूशलेम, म तिम्रा पर्खालहरूमाथि रक्षकहरू खटाउनेछु। ती रक्षकहरू चुप लागेर बस्ने छैनन्। तिनीहरू रात दिन प्रार्थना गरिरहनेछन्। रक्षकहरू! तिमीहरूले परमप्रभुलाई प्रार्थना अवश्य गर्नुपर्छ। तिमीहरूले उहाँलाई आफ्ना वचनहरूको सम्झना गराउनु पर्छ। कहिल्यै प्रार्थना गर्न नचुक।

7 जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न तबसम्म तिमीहरूले उहाँलाई प्रार्थना गर्नु नै पर्छ।

8 परमप्रभुले शपथ ग्रहण गर्नुभयो। उहाँले प्रमाण स्वरूप आफ्नै शक्ति चलाउनु भयो अनि परमप्रभुले त्यो आफ्नो शक्ति त्यही वचनहरू कायम राख्न चलाउनु हुनेछ। परमप्रभुले भन्नुभयो, “प्रतिज्ञा गर्छु कि, अब कहिल्यै तिमीहरूका खाद्यान्न तिमीहरूका शत्रुहरूलाई दिइने छैन। म वचन दिँन्छु कि तिमीहरूले बनाएका दाखरस, तिम्रा शत्रुहरूले लैजाने छैनन्।

9 जुन मानिसले अन्नहरू थुपारेकाछन् त्यसैले खानेछ, अनि त्यस मानिसले परमप्रभुको प्रशंसा गर्नेछ। जुन मानिसले दाखहरू थुपार्दछ, ती दाखहरूबाट उसले दाखरस पिउनेछ, अनि ती कुराहरू मेरो पवित्र देशमा हुनेछ।”

10 मूल ढोकाहरूबाट आऊ! मानिसहरूकोलागि बाटो खुल्ला पारिदेऊ। बाटो तयार पार। बाटोको सारा ढुङ्गाहरू हटाई देऊ। मानिसहरूकोलागि चिन्ह स्वरूप डन्डा उठाऊ।

11 सुन, परमप्रभु टाढा देशहरूमा बस्नेहरूसँग बोली रहनु भएकोछ। “सियोनका मानिसहरूलाई बताऊ ‘हेर, तिमीहरूका मुक्तिदाता आउँदै हुनुहुन्छ। उहाँले तिमीहरूको लागि पुरस्कार ल्याई रहनु भएकोछ उहाँले त्यो इनाम आफैसँग लिएर आउनु हुँदैछ।’”

12 उहाँका मानिसहरूलाई “पवित्र मानिसहरू,” या “परमप्रभुका सुरक्षित मानिसहरू” भनेर बोलाईने छ। अनि यरूशलेमलाई “परमेश्वरले चाहनु भएको शहर,” या “परमेश्वरसँगै भएको शहर” भनिने छ।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy