यशैयाको पुस्तक 12 - पवित्र बाइबलपरमेश्वरप्रति स्तुति-गान 1 त्यस बेला, तिमीहरू भन्नेछौः “हे परमप्रभु म तपाईंको महिमा गाउँछु! तपाईं मसित रिसाउनु भएको थियो। तर अहिले तपाईंको रिस साम्य भएकोछ अनि मलाई आफ्नो माया देखाउनु भएकोछ। 2 परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु, म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ, अनि म उहाँको महिमाको गुणगान गर्नेछु।” 3 तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ। तब तिमीहरू आनन्दित हुनेछौ। 4 त्यसपछि तिमीहरू भन्नेछौ, “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।” 5 परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ। किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ! परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ। यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्। 6 हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। त्यसैले आनन्दित होऊ! |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International