होशेको पुस्तक 14 - पवित्र बाइबलपरमप्रभुतिर फर्क 1 हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ। 2 जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन, “हाम्रा सबै पापहरू टाढा गरेर, जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर, जुन हामीले भनिरहेकाछौ। हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौं। 3 अश्शूरले हामीलाई बँचाउन सक्तैंन। हामी घोडहरूमाथि सवार हुनेछैनौ। न त हामी आफ्नो हातले बनाएको कुरालाई ‘हाम्रो परमेश्वर’ भन्नेछौं। किनकि बिना आमा बाबुका सन्तानहरूप्रति दया गर्ने, केवल तपाईं मात्र हुनुहुन्छ।” परमप्रभुले इस्राएललाई क्षमा गर्नुहुन्छ 4 परमप्रभु भन्नुहुन्छ, “उनीहरूले मलाई त्यागे। म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु। म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु। म अब उनीहरू प्रति क्रोधित हुनेछैन। 5 म इस्राएलको निम्ति शीत झैं बन्नेछु। इस्राएल लिली फूल झैं फुल्नेछ। लबानोन झैं त्यसको जरा फैलनेछ। 6 त्यसका हाँगाहरू भद्राक्षको रूख झैं हुनेछन्। त्यो सुन्दर हुनेछ। त्यो त्यस सुगन्ध झैं हुनेछ जुन लबानोनको रूखको जराबाट आउँछ। 7 इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्। तिनीहरू अन्न झैं बढ्नेछन्। तिनीहरू अङ्गुरका लहरा झैं फल्ने र फूल्ने छन। अनि तिनीहरूको सुगन्ध लबानोनको दाखरस जस्तै हुनेछ। परमप्रभुले इस्राएललाई मूर्तिको विषयमा चेतावनी दिनुभयो 8 “हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन। म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु। म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु। म सधैँ हरियो रहने सल्लाको रूख जस्तै हुँ। त्यसको फल मबाट नै आउँछ।” अन्तिम सल्लाह 9 यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ। यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ। परमप्रभुको बाटो ठीक छ। असल मानिसहरू तिनीहरूद्वारा बाँच्छन्। पापीहरू तिनीहरूद्वारा मर्छन्। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International