हिब्रू 8 - पवित्र बाइबलयेशू हाम्रा प्रधान पूजाहारी 1 हामी के भन्दै छौँ त्यसको सार यो हो हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ स्वर्गमा परमेश्वर को सिंहासनको दाहिनेपट्टि बस्नु भएको छ। 2 उहाँ परमपवित्र स्थानमा सेवा गर्नुहुन्छ। मानिसले होइन, परमेश्वरले बनाउनुभएको सत्य मन्दिरमा सेवा गर्नुहुन्छ। 3 हरेक प्रधान पूजाहारीको काम हुन्छ परमेश्वरलाई भेटी र बली चढाउने। यसर्थ, हाम्रा प्रधान पूजाहारीले पनि परमेश्वरलाई केही चढाउनु पर्छ। 4 यदि हाम्रा प्रधान पूजाहारी पृथ्वीमा हुनुभएको भए, उहाँ पूजाहारी हुनुहुँदैन थियो। म यसकारण यो भन्दैछु व्यवस्थाले चाहेको भेटी चढाउन त्यहाँ पूजाहारीहरू छँदैछन्। 5 वास्तवमा पूजाहारीहरूले गरेको सेवा त केवल स्वर्गमा भएका कुराहरूको नवकल र छायाँ मात्र हुन्। त्यसैकारण मोशाले जब पवित्र तम्बू तान्दै थिए परमेश्वरले उनलाई चेतावनी दिनुभयो, “याद गर तिमीले हरेक कुरो त्यसै अनुसार बनाउनु जुन तिमीलाई मैले पहाडमा देखाएँ।” 6 तर येशूलाई सुम्पिएको काम अरू पूजाहारीहरूको काम भन्दा धेरै ठूलो थियो। उसै गरी, नयाँ करार जुन येशूले परमेश्वरबाट आफ्ना मानिसहरूलाई ल्याउनुभएको छ त्यो पनि पुरानो करारको भन्दा धेरै ठूलो छ। अनि नयाँ करार उत्तम प्रतिज्ञामा आधारित छ। 7 पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन। 8 तर परमेश्वरले मानिसहरूमा केही भूल भेट्टाउनुभयो। उहाँले भन्नुभयो, “समय आउँदैछ, जब म इस्राएलका मानिसहरूलाई, र यहूदाका मानिसहरूलाई एउटा नयाँ करार दिनेछु। 9 यो करार त्यस्तो हुने छैन जस्तो मैले तिनका पुर्खाहरूलाई दिएँ। त्यो करार मैले दिएँ जब मैले तिनीहरूका हात पक्रेँ र मिश्रदेशबाट ल्याएँ। तर मैले दिएको करारको अनुशरण तिनले गरेनन् तब मैले तिनीहरूबाट आफ्नो मुख फर्काएँ, परमेश्वर भन्नुहुन्छ। 10 म यो नयाँ करार इस्राएलका मानिसहरूलाई भविष्यमा दिनेछु, परमेश्वर भन्नुहुन्छ। म आफ्नो करार तिनका मनमा हालिदिनेछु, म आफ्नो करार तिनका हृदयमा लेखिदिनेछु। म तिनका परमेश्वर बन्नेछु, र ती मेरा प्रजाहरू बन्नेछन्। 11 अब उप्रान्त कसैले आफ्ना सह-वासीलाई अथवा आफ्ना भाइ बहिनीले प्रभुलाई चिन्न सिकाउनु पर्दैन, किनकि सबै मानिसले चाहे ठूलाबढा होऊन् चाहे सानातिना होऊन् मलाई चिन्नेछन्। 12 मेरो विरोधमा तिनीहरूले गल्ती कुराहरू गरे म क्षमा दिनेछु, अनि अब उप्रान्त म तिनका पापहरूको याद राख्ने छैन।” 13 यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहर्याउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International