Online Bible

- Reklamy -

उत्पत्ति 9 - पवित्र बाइबल


नयाँ शुरु

1 परमेश्वरले नूह र उसका छोराहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका सन्तानहरूको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरूले भरियोस्।

2 यस पृथ्वीको प्रत्येक पशु, आकाशको प्रत्येक चरा, प्रत्येक जन्तु जो भूइँमा घस्रन्छ र समुद्रका प्रत्येक माछा तिमीसित डराउने छन। तिनीहरू सबै तेरो नियन्त्रणमा बसुन्।

3 कुनै पनि गतिशील चीज तेरो आहारको निम्ति होस्, जस्तो मैले पहिले हरियो उद्भिदहरू खाद्यको निम्ति दिएँ अहिले तलाईं प्रत्येक चीज खानको निम्ति दिन्छु।

4 जिउँदो पशुहरूको मासुमा जतिन्जेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु।

5 अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।

6 “यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ, कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।”

7 “अनि तिमीले धेरै सन्तानहरू पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”

8 तब परमेश्वरले नूह र उनका छोराहरूलाई भन्नुभयो,

9 “म तिमी, तिम्रा भावी सन्तान अनि तिमीसित भएको प्रत्येक सजीव वस्तुसित विशेष सम्झौता तयार गर्दै छु।

10 म मेरो करार सबै चराहरू अनि पाल्तू पशुहरू अनि पृथ्वीमा भएका सबै जनावरहरूसित जो तिमीहरूसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरूसित गर्नेछु।

11 तिमीहरूसित म यो करार गर्दैछु अब उसो कहिल्यै पनि जल प्रलयद्वारा प्राणीहरू नष्ट हुने छैनन् अनि अब फेरि पृथ्वीलाई नष्ट पार्न जल-प्रलय कहिल्यै हुनेछैन।”

12 अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरू र तिमीहरूसित भएका प्राणीहरूसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरूका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैँ रही रहनेछ।

13 तिमीहरूसित मैले स्थापित गरेको करारको चिन्ह स्वरुप बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो।

14 जब म पृथ्वीमाथि बादल ल्याउँछु बादलमा इन्द्रेणी देखा पर्छ।

15 म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरूलाई नष्ट गर्ने छैन।

16 जब म इन्द्रेणीलाई देख्छु म त्यो करार सधैँ सम्झना गर्नेछु म अनि पृथ्वीमा भएको प्रत्येक जीवित प्राणीहरू बिचमा भएको करार सम्झना गर्नेछु।”

17 अनि परमेश्वरले नूहलाई भन्नुभयो, “यही नै म र पृथ्वीमा भएका सबै जीवित प्राणीहरूसित स्थापित गरिएको करारको चिन्ह हो।”


कष्टहरूको प्रारम्भ

18 जहाजबाट निस्केका नूहका छोराहरू शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए)

19 यी तिनै जना नूहका छोराहरू थिए र यी तीन जनाका सन्तानहरूले नै यो पृथ्वी भरियो।

20 नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए।

21 नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्।

22 कनानका बाबु हामले आफ्नो बाबु नूहलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरूलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए।

23 तिनीहरू पछिल्तिर फर्केका थिए र तिनीहरूले बाबुलाई नाङ्गो देखेनन्।

24 जब नूह मध्य निंद्राबाट ब्यूँझिए उसको कान्छो छोरोले के गरेको थियो त्यो थाहा पाए।

25 तब नूहले भने, “कनानलाई सराप लागोस्, ऊ आफ्ने दाज्यू-भाइहरूको कमारो हुनेछ।”

26 तब नूहले भने, “शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन्। कनान उसको दास बनियोस्।

27 परमेश्वरले येपेतको विकास गराई दिऊन्, अनि येपेत शेमको पालहरूमा बसोस्, अनि कनान उसको कमारा होस्।”

28 नूह जल प्रलयपछि 350 बर्ष बाँचे र मरे।

29 यसर्थ नूह जम्मा 950 बर्ष बाँचे र मरे।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy