Online Bible

- Reklamy -

उत्पत्ति 50 - पवित्र बाइबल


याकूबको दाह-सँस्कार

1 जब याकूबको मृत्यु भयो यूसुफ खुबै दुःखी भए। तिनले आफ्नो बाबुलाई अँगाले हालेर रूदै म्वाई खाए।

2 यूसुफले आफ्ना सेवकहरूलाई आफ्नो बाबुको अन्तिम संस्कारको निम्ति तयार पार्न आज्ञा दिए। (ती सेवकहरू वैद्यहरू थिए।) ती वैद्यहरूले याकूबको शरीर अन्तिम संस्कारको निम्ति तयार पारे। तिनीहरूले याकूबको मृत शरीर मिश्र देशवासीहरूका विशेष नियम अनुसार तयार पारे।

3 मिश्रीहरूले इस्राएलको लागि 70 दिन सम्म शोक गरे। तिनको शरीर तयार गर्ने समय 40 दिन भित्र पूरा भयो। शोकको पूरा समय पछि। यूसुफ फिरऊन कहाँ गए।

4 सत्तरी दिनपछि शोक समय सकियो र यूसुफले फिरऊनका अधिकारीहरूसँग कुरा गरे। यूसुफले भने, “फिरऊनलाई यो कुरो भनीदिनु।

5 ‘मेरा बाबुको मृत्यु हुनअघि, मैले तिनलाई एउटा वचन दिएको थिएँ। मैले प्रतिज्ञा गरेको थिएँ म तिनलाई कनान भूमिमा दफन गर्नेछु। त्यो उनले आफ्नो निम्ति तयार पारेको ओडार हो। यसर्थ मेरा बाबुको अन्तिम संस्कार गर्न मलाई त्यहाँ जानु दिनु होस्। त्यसपछि म तपाईं कहाँ फर्केर आउने छु।’”

6 फिरऊनले उत्तर दिए, “आफ्नो प्रतिज्ञा पालन गर। जाऊ अनि बाबुको अन्तिम संस्कार गर।”

7 यसकारण यूसुफ आफ्नो बाबुको अन्तिम संस्कार गर्न गए। फिरऊनका अधिकारीहरू, फिरऊनका अग्रजहरू अनि मिश्रका अग्रजहरू समस्त यूसुफसित गए।

8 तिनीसित आफ्ना सबै दाज्यू-भाइहरू अनि तिनका बाबुका समस्त परिवारका मानिसहरू गए। गोशेन भूमिमा खाली नानीहरू र पशुहरू मात्र थिए।

9 मानिसहरूको त्यहाँ एउटा विशाल घुइँचो भयो। त्यहाँ रथहरूमा र घोडसवार भएका सिपाहीहरू पनि थिए।

10 तिनीहरू यर्दन नदीको पूर्व गोरेन आतादमा गए। तब तिनीहरू यर्दन नदीको पूर्वतिर आतादको खलामा पुगे। तिनीहरूले एउटा ठूलो अनि शोकपूर्ण अन्तिम संस्कार गरे। अनि त्यहाँ यूसुफले सात दिनसम्म आफ्नो बुबाको मृत्यु शोक पालन गरे।

11 जब कनान देशका मानिसहरू जो त्यस आताद खलामा थिए, तिनीहरूले भने, “मिश्र देशवासीहरू कति गहिरो शोक पालन गरिरहेका छन्।” यसर्थ तिनीहरूले त्यस भूमिको नाउँ हाबिल-मिश्रइम राखे।

12 यसर्थ याकूबका छोराहरूले आफ्ना बाबुले जे भनेका थिए त्यही गरे।

13 तिनीहरूले बुबाको मृत शरीर कनान देशमा ल्याए अनि उसलाई त्यस ओडारमा गाडे जो मकपेला क्षेत्रमा छ अनि जसलाई अब्राहामद्वारा माम्रे नजिक हित्ती, एप्रोनबाट आफ्नो चिहानको लागि उपयोग गर्न किनिएको थियो।

14 आफ्नो बुबाको मृत शरीर गाडे पछि यूसुफ सबै मानिसहरूसँगै मिश्र फर्किए जो तिनीसँग गएका थिए।


दाज्यू-भाइहरू यूसुफसित अझै डराइरहे

15 याकूबको मृत्यु पछि यूसुफका दाज्यू-भाइहरू चिन्तित भए। तिनीहरूले धेरै बर्षअघि यूसुफसित गरेको कर्मको निम्ति तिनीहरू डराए। तिनीहरूले भने, “हुन सक्छ, हामीले गरेको कर्मको निम्ति यूसुफले अझसम्म हामीलाई घृणा गर्छ।”

16 यसर्थ उसका दाज्यू-भाइहरूले उसलाई यो संदेश पठाए, “तिम्रो बुबा मर्नु अघि उहाँ आफैंले यो संदेश तिमीलाई दिनु भनी हामीलाई भन्नु भएको थियो।

17 उनले भने, ‘दाज्यू-भाइहरूले तिमीसित गरेको कुकर्मको निम्ति क्षमा दिनु भनी म बिन्ती गर्दछु।’ यसर्थ, यूसुफ, हामीले तिमीसित गरेको कुकर्मको निम्ति दया गरी हामीलाई क्षमा गर। हामी तपाईंका बुबाको परमेश्वरका दासहरू हौं।” त्यस समाचारले यूसुफलाई साह्रै दुःखी तुल्यायो, अनि तिनी खुबै रोए।

18 तिनका दाज्यू-भाइहरू तिनीकहाँ गए अनि तिनी अघि निहुरिएर भने, “हामी तपाईंका दास हुनेछौं।”

19 तब यूसुफले तिनीहरूलाई भने, “नडराओ। म परमेश्वर होइन। तिमीहरूलाई दण्ड दिने मेरो कुनै अधिकार छैन।

20 यो सत्य हो तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने योजना गरेका थियौ। तर वास्तवमा, परमेश्वरले राम्रोको निम्ति योजना बनाउनु भएको थियो। परमेश्वरको योजना अनुसार धेरै मानिसहरूको जीवन बचाउँन मलाई प्रयोग गर्नु थियो। अनि उहाँको योजना जस्तो थियो त्यस्तै भयो।

21 यसर्थ तिमीहरू नडराओ। म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु।” यसरी यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई राम्रा कुराहरू भने। यसले दाज्यू-भाइहरूले धेरै शान्ति पाए।

22 यूसुफ उनको परिवारसित मिश्रमा बसे। यूसुफ एक सय दश बर्ष पुगेर मरे।

23 यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाति-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे।


यूसुफको मृत्य

24 जब यूसुफको मर्ने बेला भएको थियो, उनले आफ्ना दाज्यू-भाइहरूलाई भने, “प्रायः मेरो मृत्युको समय भयो। तर म जान्दछु परमेश्वरले तिमीहरूको हेरचाह गर्नु हुनेछ, अनि यस देशबाट बाहिर लैजानु हुनेछ। परमेश्वरले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई लैजानु हुनेछ।”

25 तब यूसुफले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नु लगाए। उनले भने, “जब परमेश्वरले तिमीहरूलाई त्यो नयाँ भूमिमा लानु हुनेछ त्यस बेला मेरा अस्थिहरू तिमीहरूसित लिएर जानेछौं भनी प्रतिज्ञा गर।”

26 यूसुफ जब एक सय दश बर्ष पुगेपछि तिनको मृत्यु भयो। अन्तिम संस्कारको निम्ति वैद्यहरूले तिनको लाश तयार पारे अनि तिनको शरीरलाई मिश्रमा एउटा कफनमा राखे।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy