गलाती 6 - पवित्र बाइबलएक अर्कोलाई सघाऊ 1 दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ। 2 एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँच्चोसित पालनगरेका हुनेछौ। 3 यदि कोही मान्य नहुँदा-नहुँदै पनि आफूलाई मान्य नै सम्झन्छ भने उसले आफैंलाई धोखा दिइरहेकोछ। 4 कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैंले जाँचोस्। तब मात्र ऊ गर्वित हुनसक्छ। 5 प्रत्येक आफ्नो अभिभारा आफैं स्वीकार गरोस्। जीवन खेत रोपे जस्तो हो 6 जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्। 7 आफूले आफैंलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ। 8 यदि कसैले आफ्नै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ। 9 राम्रो काम गर्नामा हामी थाक्नु हुँदैन। यदि हामी कर्म गर्न रोकिएनौ भने ठीक समयमा हामी बाली उठाउन पाउँछौं। 10 जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्। पावल आफ्नो पत्र समाप्त गर्छन् 11 यो म आफैं लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु। 12 कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्। 13 जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफैं व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफूमा गर्व गर्छन्। 14 म चाँहि त्यस्ता कुरामा गर्व गर्दिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु। 15 खतना किन गर्नु? त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु। 16 यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्। 17 अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ। 18 मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International