प्रस्थान 14 - पवित्र बाइबल1 तब परमप्रभुले मोशालाई भन्नु भयो, 2 “इस्राएलीहरूलाई पी-हहीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिग्दोल अनि समुद्रको बीचमा बालसपोन कै नजिक छाउनी लगाऊ। 3 फिरऊनले सोच्नेछ इस्राएलका मानिसहरू मरुभूमिमा हराए छन्। अनि उसले सोच्नेछ मानिसहरूको जाने ठाउँ छैन। 4 म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।” फिरऊनले इस्राएलीहरूलाई खेद्छ 5 इस्राएलका मानिसहरू भागे भन्ने समाचार फिरऊनले थाहा पायो। जब फिरऊन र उसका अधिकारीहरूले पनि यो खबर सुने, तिनीहरूले के गरेका थिए त्यस विषयमा आफ्नो विचार बद्ली गरे। फिरऊनले भने, “हामीहरूले किन इस्राएली मानिसहरूलाई तिनीहरूको दासत्वबाट जान दियौं?” 6 यसर्थ फिरऊनले आफ्नो रथ ठीक पार्यो अनि आफूसँगै आफ्नो मानिसहरूलाई लियो। 7 उसले आफ्नो सर्वश्रेष्ठ मानिसहरूमध्ये 600 जना अनि आफ्नो सारा रथहरू लिए। प्रत्येक रथमा एकजना अधिकारी थिए। 8 इस्राएलका मानिसहरू निडर साथ बढिरहेका थिए, तर परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइ दिनु भयो, यसर्थ उसले इस्राएलीहरूलाई खेद्यो। 9 मिश्री फौजसित धेरै घोडा, सेना अनि रथहरू थिए। तिनीहरूले इस्राएलीहरूलाई खेदे र लाल समुद्रको नजिक बालसिपोनमा जहाँ तिनीहरूले छाउनी लगाएका थिए तिनीहरूलाई पक्रे। 10 इस्राएलीले फिरऊनलाई उसका मिश्रदेशीहरूसित आउँदै गरेको देखे। तिनीहरू साह्रै डराएका थिए अनि तिनीहरूले परमप्रभुलाई गुहार मागे। 11 तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायौ? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन तिमीले हामीलाई मरुभूमिमा मार्न ल्यायौं? 12 हामीले मिश्रमा तिमीलाई भनेका थियौं, ‘यस्तो परी आउनेछ। मिश्रमा हामीले भनेका थियौ कि हाम्रो चिन्ता नगर्नु होस्।’ हामीलाई मिश्रमा बस्न दिनुहोस र मिश्र वासीहरूको सेवा गर्न दिनुहोस। यसरी मरुभूमिमा आएर मर्नु भन्दा त त्यही बसी कमारा-कमारी हुनु नै असल थियो।” 13 तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ त्यहीं उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ। 14 तिमीहरूले केही गर्नु पर्दैन तर स्थिर भएर बस। परमप्रभुले तिमीहरूको निम्ति युद्ध गर्नु हुनेछ।” 15 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अहिलेसम्म मसँग तिमी किन कराइरहेका छौ? इस्राएली मानिसहरूलाई अघि बढ़न शुरू गर्नु भन। 16 लाल समुद्रमाथि तिम्रो लाठी उठाऊ अनि समुद्र दुइ भाग हुन्छ, तब मानिसहरू सूख्खा जमीनमा हिंडेर जानेछन्। 17 मिश्रदेशका मानिसहरूले तिमीहरूलाई खेदिरहेका छन् किनभने मैले तिनीहरूलाई अट्टेरी बनाएको छु। तर म फिरऊन र उसको घोडा तथा रथहरू भन्दा शक्तिशाली छु भन्ने तिमीलाई देखाउने छु। 18 तब मिश्रदेशवासीहरू जान्नेछन् कि म परमप्रभु हुँ। जब म फिरऊन, उसका सेना, घोडाहरू तथा रथहरूलाई पराजित पार्नेछु तब त्यहाँका मानिसहरूले मलाई आदर गर्नेछन्।” परमप्रभुले मिश्रका सेनालाई पराजित गर्नुहुन्छ 19 तब परमप्रभुका स्वर्गदूत मानिसहरूका पछि लागे। (परमप्रभुका स्वर्गदूत खास गरी मानिसहरूलाई डोर्याउन तिनीहरूका अघि-अघि थिए।) यसकारण बादलको खामो मानिसहरूको अघिबाट सरेर पछाडिपट्टि गयो। 20 यसरी त्यो बादल इस्राएली अनि मिश्रदेशी मानिसहरूको माझमा उभियो। यसले इस्राएलीहरूलाई उज्यालो दियो अनि मिश्रदेशी मानिसहरूलाई अँध्यारो। अँध्यारोले गर्दा फिरऊनका सेनाहरू इस्राएलीहरूको नजिक आउन सकेनन्। 21 मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो। 22 इस्राएलका मानिसहरू सूखा जमीनमाथि हिंडेर समुद्र पार गरे। तिनीहरूको दाहिने र देब्रेपट्टि समुद्रको पानी पर्खाल झै उभिएको थियो। 23 फिरऊनका घोडसैनिक अनि रथहरूले इस्राएलीहरूलाई समुद्र बीचमा खेदे। 24 एकाबिहानै परमप्रभुले बादल अनि आगोको खाँबोबाट मिश्रका सेनालाई हेर्नु भयो। अनि उहाँले तिनीहरूलाई आक्रमण गर्नु भयो अनि पराजित पार्नु भयो। 25 रथका पाङग्राहरू भासिए अनि रथलाई नियन्त्रणमा राख्न कठिन पर्यो। मिश्रदेशका मानिसहरू जोरले कराए, “हामी यहँबाट भागौं, परमप्रभु हाम्रो विरूद्ध इस्राएलका मानिसहरूको पक्षमा लडाइँ गर्नु हुँदैछ।” 26 तब परमप्रभुले मोशालाई भन्नु भयो, “समुद्रमाथि तिम्रो लहुरो उठाऊ जसले गर्दा पानी मिश्रहरूका घोडाहरू र रथहरूमाथि फर्केर जाऊन्।” 27 यसकारण बिहान उज्यालो हुनअघि मोशाले आफ्नो लहुरो समुद्रमाथि उठाए अनि समुद्र फेरि पानीले भरियो। मिश्रका मानिसहरू त्यहाँबाट भाग्ने चेष्टा गर्दै थिए तर परमप्रभुले तिनीहरूलाई समुद्रमा डुबाएर मारिदिनु भयो। 28 त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्। 29 समुद्रको पानी भाग-भाग भएर इस्राएलीहरूको दाहिने र देब्रेपट्टि उभियो र इस्राएलका मानिसहरू सूख्खा जमीनमा हिंडेर पारि गए। 30 यसरी त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई बचाउनु भयो र ती मानिसहरूले मिश्री मानिसहरू लाल समुद्रको किनारमा देखे। 31 इस्राएलका मानिसहरूले परमप्रभुको महाशक्ति थाह पाए जब उहाँले मिश्रका सेनाहरूलाई परास्त गर्नु भयो। यसकारण मानिसहरू परमप्रभुसित डराए। तिनीहरूले फेरि परमप्रभु र उहाँका सेवक मोशामाथि विश्वास गर्नु थाले। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International