Online Bible

- Reklamy -

प्रेरित 12 - पवित्र बाइबल


हेरोद अग्रिपाले मण्डलीलाई सताए

1 त्यति नै बेला (त्यही समयमै) राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले।

2 हेरोदले याकूबलाई तरवाले मार्नु भन्ने हुकुम दिए। याकूब यूहन्नाका भाइ थिए।

3 हेरोदले देखे कि यहूदीहरूले त्यो मन पराए। यसकारण उनी अघि गए अनि पत्रुसलाई पनि पक्रे। यो घट्ना यहूदीहरूको निस्तार चाडको समयमा घटेको थियो।

4 हेरोदले पत्रुसलाई पक्रेर जेलमा राखे। सोह्र-जना सिपाहीहरूले पत्रुसलाई कडा नजरमा राखे। हेरोदले पत्रुसलाई निस्तार चाडको पछि जनता समक्ष ल्याउने योजना गरे।

5 यसैले उनले पत्रुसलाई जेलमा राखे। तर मण्डलीले पत्रुसको लागि परमेश्वरलाई लगातर प्रार्थना गरिरहे।


पत्रुसले जेल छोडदछन्

6 पत्रुस दुइजना सिपाहीहरूका माझमा सुतिरहेका थिए। उनलाई दुइटा साङ्गलाले बाँधिएको थियो। अरू सिपाहीहरू कैदखानाको ढोकामा पहरा दिइरहेका थिए। यो रातको समय थियो। हेरोदले पत्रुसलाई भोलिपल्ट जनतासमक्ष ल्याउन सोंचिरहेथ्यो।

7 अचानक परमप्रभुको स्वर्गदूत त्यहाँ उभियो। कोठाभरि प्रकाश चम्कियो। स्वर्गदूतले पत्रुसलाई एकपट्टी स्पर्श गरेर उनलाई व्यूँझाए। दूतले भने, “चाँडो, उठ!” साङ्गलाहरू पत्रुसका हातहरूबाट सुल्किए।

8 स्वर्गदूतले पत्रुसलाई भने, “तयार हौ, तिम्रा जुत्ताहरू लगाऊ।” पत्रुसले त्यसै गरे। दूतले भन्यो, “तिम्रो वस्त्र लगाऊ र मेरो पछि लाग।”

9 तब स्वर्गदूत त्यहाँबाट निस्किए र पत्रुस पनि उनैको पछि लागे। पत्रुसले जानेनन् कि स्वर्गदूले जे गरिरहेका थिए त्यो साँच्चो थियो। उनले सोचे कि उनले दर्शन देखिरहेछन्।

10 पत्रुस र स्वर्गदूत पहिलो त्यसपछि दोस्रो पहरे चौकीहहरू भएर निस्किए। तब तिनीहरू फलामको द्वार भए तिर पुगे जसले तिनीहरूलाई शहरदेखि छुट्याएको थियो। त्यो प्रवेशद्वार तिनीहरूका निम्ति आफैं खुलियो। त्यस द्वार भएर तिनीहरू बाहिर निस्के र एक खण्डको दूरी पार गरेर गए। त्यसपछि अचानक स्वर्गदूत अल्पिए।

11 तब पत्रुसले के भएको थियो भनेर थाहा पाए अनि आफैंलाई भने, “अब मैले थाहा पाएँ कि यो वास्तवमा सत्य रहेछ। प्रभुले आफ्ना स्वर्गदूत पठाउनु भयो अनि मलाई हेरोदबाट बचाउनु भयो। यहूदीहरूले ममाथि केही अप्रिय घट्ना हुन्छ भनि सोचे होलान्। तर मलाई प्रभुले ती सबै कष्टहरूबाट मुक्त पार्नुभयो”

12 त्यसको विषयमा जाने पछि पत्रुस मरियमको घरतर्फ लागे। मरियम यूहन्नाकी आमा थिइन्। (यूहन्नालाई मर्कूस पनि भनिन्थ्यो।) धेरै मानिसहरू त्यहाँ जम्मा भएका थिए। तिनीहरू सबैले प्रार्थना गरिरहेका थिए।

13 पत्रुसले बाहिरबाट दैलो ढक्ढकाए। रोदा नाउँ गरेकी केटी ढोका खोल्न भनि गई।

14 रोदाले पत्रुसको आवाज चिनी र खुशी भई। खुशीले गर्दा उसले ढोका खोल्न सम्म भुली। उनी भित्र गई र जम्मा भएका झुण्डलाई भनी, “पत्रुस ढोकामा हुनुहुन्छ!”

15 तिनीहरूले रोदालाई भने, “तँ पागल होस्!” तर उसले यो साँच्चो हो भनी रही। ती झुण्डले भने, “यो पत्रुसको स्वर्गदूत हुनुपर्छ।”

16 तर पत्रुसले दैलो ढक्ढकाई रहे। जब चेलाहरूले ढोका उघारे तब उनीहरूले पत्रुसलाई देखे। तिनीहरू उनलाई देखेर छक्क परे।

17 पत्रुसले हातको ईशारा गरेर तिनीहरूलाई चूपचाप बस्नु भने। उनले, कसरी परमप्रभुले उनलाई जेलबाट मुक्त गराइदिनु भयो, वर्णन गरे। उनले भने, “याकूब र अन्य दाज्यू-भाइहरूलाई पनि बताइदिनु।” पछिबाट पत्रुस अर्को ठाँउ तर्फ लागे।

18 अर्कोदिन सिपाहीहरू अत्तालिए। तिनीहरू छक्क पर्दै थिए पत्रुसलाई के भएको हुन सक्थ्यो? पत्रुस यसरी हाराएकोमा तिनीहरू अन्योलमा परे।

19 राजा हेरोदले पत्रुसलाई चारैतिर खोज तलाश गरे तर पाउन सकेनन्। तब हेरोदले सिपाहीहरूलाई सोधखोज गर्न थाले। पत्ता नलाग्दा सिपाहीहरूलाई नै मार्ने हुकुम दिए। पछि हेरोद यहूदियाबाट सिजरिया शहरमा केही समयको लागि त्यही बसे।


हेरोद अग्रिपाको मृत्यु

20 हेरोद टायर र सायडनवासीहरूसँग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।

21 हेरोदले तिनीहरूसँग एकदिन भेट गर्ने निश्चय गरे। त्यस दिन हेरोदले सुन्दर शाही-पोषाक लगाएका थिए। उनी राजसिंहासनमा बसे अनि मानिसहरूलाई सम्बोधन गरे।

22 मानिसहरू चिच्याए, “यो त परमेश्वरको आवाज हो मानिसको होइन!”

23 हेरोदले यस्तो प्रशंसा ग्रहण गरे अनि प्रभुको महिमालाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई रोगी तुल्याए। उनलाई भित्र-भित्रै कीराले खायो अनि मरे।

24 परमेश्वरको सन्देश चारैतर्फ फिंजिरहेथ्यो अनि अधिक भन्दा अधिक मानिसहरूलाई पूर्ण प्रभाव पार्यो। विश्वासीहरूका समूहहरू धेरै गुणा बढेर गए।

25 बर्णाबास र शावलले यरूशलेममा आफ्ना काम सिद्धाए पछि एन्टिओक फर्के। तिनीहरूका साथमा यूहन्ना (मर्कूस) पनि थिए।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy