Online Bible

- Reklamy -

२ कोरिन्थी 7 - पवित्र बाइबल

1 प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किनकि हामी परमेश्वरलाई आदर गर्छौं।


पावलको आनन्द

2 हाम्रो लागि आफ्नो हृदय खुला राख। हामीले कसैलाई नराम्रो गरेका छैनौं, हामीले कसैको विश्वास नष्ट गरेका छैनौं। हामीले कसैलाई शोषण गरेका छैनौं।

3 मैले यो तिमीहरूलाई दोष्याउनको लागि भनेको होइन। मैले अघि नै भनें हामी तिमीहरूलई यती धेरै माया गर्छौं कि हामी तिमीहरूको जीवन र मृत्युसँगै मिलेका छौं,

4 म तिमीहरूसित औधि ढुक्क अनुभव गर्छु। म तिमीहरू प्रति गर्वित छु। तिमीहरू मलाई धेरै उत्साह दिन्छौ र हाम्रा सारा दु:खहरूमा पनि म बडो अनिन्दित छु।

5 जब हामी म्यासिडोनियामा आयौं, हामीलाई विश्राम थिएन। हामीले आफ्नो चारैतिर दुःखै दुःख देख्यौं। बाहिर-बाहिर हाम्रो लडाइँ थियो तर भित्र-भित्र डर।

6 तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो।

7 तिनको आगमन अनि तिमीहरूले उनलाई दिएको सुखले हामीहरू सुखी भयौ। तीतसले भने कि तिमीहरू मलाई भेट्न चाहन्छौ। आफूले गरेको कामको लागि तिमीहरूले दुःख मान्यौ भनी उनले मलाई भने। अनि तिमीहरूले मेरो खुब याद गर्छौ भनेर पनि उनले मलाई भने। यो सुनेर म अत्यन्तै खुशी भएँ।

8 मैले लेखेको पत्रले तिमीहरूलाई खिन्न तुल्यायो भने पनि त्यो लेखेकोमा म दुःखीत छैनँ। तर, त्यसले शुरूमा तिमीहरूलाई खिन्न बनायो नै, म पनि पहिले त त्यसको लागि दुःखी भएँ। तर त्यसले तिमीहरूलाई थोरै समयको लागि मात्र खिन्न तुल्यायो।

9 अनि अहिले म हर्षित छु। तिमीहरूलाई खिन्न बनाएर म हर्षित भएको होइन। तर म यसकारणले हर्षित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याएनौं।

10 परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ।

11 तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्नु पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो।

12 त्यो चिट्ठी मैले लेख्नुको कारण यो होइन कि व्यक्तिले भूल गर्यो तर कारण यो हो कि मानिस भूलमा थियो। वास्तवमा परमेश्वरको अघि तिमीहरू हामीलाई कति धेरै याद गर्छौ सो जान्नु त्यो चिट्ठी तिमीहरूलाई लेखिएको हो।

13 त्यसैकारण हामी सुखी थियौं। हामी खुबै आनन्दित थियौं किनभने तितस धेरै आनन्दित थिए। तिमीहरूले गरेको व्यवहारमा तिनी अत्यन्तै खुशी थिए।

14 मैले तीतससित तिमीहरूबारे गर्व गरेको थिंए। अनि मैले ठीकै गरें भन्ने तिमीहरूले प्रमाण गर्यौ। हामीले तिमीहरूलाई भनेको हरेक कुरो साँच्चो थियो। अनि तितससित हामीले गरेको गर्व पनि साँच्चो थियो भन्ने तिमीहरूले नै साबित गरिदियौ।

15 अनि उनको तिमी प्रति प्रेम अझ ठूलो हुन्छ जब उसले सम्झन्छ कि तिमीहरू सबै आज्ञाकारी थियौ। तिमीहरूले डर र आदरिसित उनलाई स्वागत गर्यौ।

16 म खुबै आनन्दित छु किनभने तिमीहरूमाथि म पुरै विश्वास गर्न सक्छु।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy