Online Bible

- Reklamy -

२ कोरिन्थी 6 - पवित्र बाइबल

1 परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ।

2 परमेश्वर भन्नु हुन्छः “ठीक समयमा मैले तिमीलाई सुनें, अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो।

3 मानिसहरूले हाम्रा काममा कुनै भुल नभेटुन् भन्ने हामी चाहन्छौ। त्यसैले अरू मानिसहरूकोलागि समस्या बन्ने कुनै काम हामी गर्दैनौं।

4 तर दुःखमा, अफ्ठ्यारोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैंलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं

5 हामी यस्तो गर्छौ, जब हामी कुटाइ खान्छौं, हामी जेलमा हुन्छौं, जब मानिसहरूले हाम्रो विरोधमा आवाज उठाउँछन्, जब हामीले कठिन परिश्रम गर्नु पर्छ, जब हामी सुत्न पाउँदैनौ अनि हाम्रोमा खाने वस्तु हुँदैन

6 हामी हाम्र समझदारीले, धैर्यले, दया अनि पवित्र आत्मामा जीवनद्वारा परमेश्वरको कर्मीहरू हौं भनी आफैं देखाँउछौं।

7 हामी पवित्र आत्माबाट, साँच्चो प्रेमबाट, सत्य प्रचार गर्दै र परमेश्वरको शक्ति मार्फत यस्तो देखाँउछौं। हरेक कुराबाट आफ्नो रक्षा गर्न हामी धार्मिक जीवनको उपयोग गर्र्छौं।

8 कसैले हामीलाई आदर गर्छन् तर कसैले अनादर गर्छन। कसैले हाम्रो बारेमा प्रशंसा गर्छन् तर कसैले निन्दा गर्छन। कसैले भन्छन् हामी ठगाहा हौं तर हामी सत्य बोल्छौं।

9 कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं।

10 हामी धेरै दुःखी छौं, तर हामी खुशी मनाइरहेकै छौं। हामी गरीब हौं, तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौं। हामीसित केही छैन, तर पनि वास्तवमा हामीसित प्रत्येक चीज छ।

11 कोरिन्थीवासी, तिमीहरूलाई हामीले खुल्ला साथ भनेका छौं। तिमीहरूसीत हामीले हाम्रा हृदय खोलेका छौं।

12 तिमीहरू प्रति हाम्रो प्रेमको स्रोतमा रोकावट परेको छैन। तर हामीप्रति तिमीहरूको प्रेमभाव रोकिएको छ।

13 तिमीहरू मेरा नानीहरू जस्तो गरी म तिमीहरूसित बोल्छु, तिमीहरूको निम्ति हामीले जे गर्यौं हाम्रो निम्ति त्यही गर! हाम्रो लागि तिमीहरूको हृदय खुल्ला राख।


अन्यजातिहरूसँग जीउन वारे चेताउनी

14 अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसँग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन।

15 ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ?

16 परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छ, “म तिनीहरूसित बस्छु, तिनीहरूसितै हिँड्छु, म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”

17 “यसैले ती मानिसहरूबाट निस्केर आऊ, आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ, केही असुद्ध कुराहरू नछोऊ, र म तिमीरूलाई स्वीकार गर्नेछु।”

18 “म तिमीहरूका पिता बन्नेछु, अनि तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परम प्रभु भन्नु हुन्छ।”

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy