Online Bible

- Reklamy -

२ इतिहास 22 - पवित्र बाइबल


अहज्याह यहूदाका राजा

1 यरूशलेमका मानिसहरूले अहज्याहलाई योरामको स्थानमा नयाँ राजा चुने। अहज्याह योरामका कान्छा छोरा थिए। योरामको छाउनीमा आक्रमण गर्न आउने अरबी मानिसहरूसित आएका मानिसहरूले योरामका सबै ठूला छोराहरू मारि दिएका थिए। यसर्थ अहज्याहले यहूदामा शासन गर्न थाले।

2 अहज्याह 22 बर्षका थिए जब तिनले शासन चलाउन शुरू गरे। अहज्याहले यरूशलेममा एक बर्ष शासन गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। अतल्याहका पिताको नाउँ ओम्री थियो।

3 अहज्याह पनि आहाबका परिवार बसेकै प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रा कुराहरू गर्न उत्साहित तुल्याइन्।

4 अहज्याहले परमप्रभुको दृष्टिमा नराम्रा कामहरू गरे। त्यस्तै नै आहाबका परिवारले गरेका थिए। आहाबका परिवारले अहज्याहका पिताको मृत्यु भएपछि अहज्याहलाई सल्लाह दिए। तिनीहरूले अहज्याहलाई नराम्रो सल्लाह दिए। त्यही नराम्रो सल्लाहले तिनलाई मृत्यु तर्फ डोर्यायो।

5 अहज्याहले आहाबका परिवारले तिनलाई दिएका सल्लाह अनुशरण गरे। अहज्याह राजा योराम साथ रामोत गिलाद शहर तर्फ अरामका राजा हजाएलको विरूद्ध युद्ध गर्न गए। योरामका पिताको नाउँ आहाब थियो जो इस्राएलका राजा थिए। तर अरामीहरूले योरामलाई युद्धमा घाइते तुल्याए।

6 योराम निको हुनका निम्ति यिज्रेल शहर फर्की गए। तिनी रामोतमा घाइते भए जब तिनी अरामका राजा हजाएल विरूद्ध लडे। तब अहज्याह योरामसित भेट गर्न यिज्रेल गए। अहज्याहका पिताको नाउँ यहूदाका राजा योराम थियो। योरामका पिताको नाउँ आहाब थियो। योराम यिज्रेल शहरमा थिए किनभने तिनी घाइते भएका थिए।

7 परमेश्वरले त्यसबेला अहज्याहको मृत्यु गराउनु भयो जब तिनी योरामलाई भेट्न गए। अहस्याह आइपुगे अनि योरामसित येहूलाई भेट्न गए येहूका पिताको नाउँ निम्शी थियो। परमप्रभुले आहाबका परिवारलाई नष्ट गर्न येहूलाई चुन्नु भयो।

8 येहूले आहाबका परिवारलाई दण्ड दिइरहेका थिए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरू, जो अहज्याहका सेवा गर्दै थिए तिनीहरूलाई भेट्टाए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरूलाई मारिदिए।

9 त्यसपछि येहूले अहज्याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई पक्रे जब तिनी सामरिया शहरमा लुक्ने कोशिश गरिरहेका थिए। तिनीहरूले अहज्याहलाई येहूकहाँ ल्याए। तिनीहरूले अहज्याहलाई मारे अनि तिनलाई गाडिदिए। तिनीहरूले भने, “अहज्याह यहोशापातका सन्तान थिए। यहोशापातले सम्पूर्ण हृदयले परमप्रभुको अनुशरण गरे।” अहज्याहको परिवारमा कोही पनि यहूदाका राज्यलाई शासन गर्ने शक्तिशाली थिएन।


रानी अतल्याह

10 अतल्याह अहज्याहको आमा थिइन्। जब तिनले आफ्ना छोराको मृत्यु भएको देखिन् तब तिनले यहूदामा राजाका सबै छोरा-छोरीहरूलाई मारिदिइन्।

11 तर यहोशेबाले अहज्याहका छोरा योआशलाई लगिन् अनि तिनलाई लुकाइन्। यहोशेबाले योआश अनि तिनकी सुसारेलाई भित्री शयनकक्ष भित्र राखिन्। यहोशेबा राजा योरामकी छोरी थिइन्। तिनी यहोयादा की पत्नी पनि थिइन्। यहोयादा एक पूजाहारी थिए। अनि यहोशेबा अहज्याहकी बहिनी थिइन्। अतल्याहले योआशलाई मारिनन् किनभने यहोशेबाले तिनलाई लुकाएकी थिइन्।

12 योआश पूजाहारीहरूसित परमेश्वरको मन्दिरमा छः बर्षसम्म लुकेर बसे। त्यस बेला अतल्याहले देशमा रानीको रूपमा शासन गरिन्।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy