Online Bible

- Reklamy -

२ इतिहास 11 - पवित्र बाइबल

1 जब रहबाम यरूशलेम आए, तिनले 1,80,000 सर्वोत्तम सैनिकहरू भेला गरे तिनले ती सैनिकहरू यहूदा अनि बिन्यामीनका कुल समूहबाट भेला गरे। उसले राज्यलाई आफ्नो निम्ति फर्काएर ल्याउन र तिनीहरूलाई इस्राएलको विरूद्ध युद्ध गर्न भेला गरे।

2 तर परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो। शमायाह परमेश्वरका मानिस थिए। परमप्रभुले भन्नुभयो,

3 “शमायाह, सुलेमानका छोरा रहबाम अनि यहूदाका राजासित कुरा गर। यहूदा बिन्यामीनमा बस्ने सबै इस्राएली मानिसहरूसित कुरा-कानी गर। तिनीहरूलाई भनः

4 परमप्रभु यसो भन्नु हुन्छः ‘तिमीहरू आफ्ना भाइहरूसित लड्नु हुँदैन। हरेक व्यक्ति घर फर्की जाओस्। मैले नै यसो हुन दिएको हुँ।’” यसर्थ रहबाम अनि तिनका सेनाले परमप्रभुको संन्देश मानेर फर्किए। तिनीहरूले यारोबाम माथि आक्रमण गरेनन्।


रहबामले यहूदालाई शक्तिशाली बनाउँछ

5 रहबाम यरूशलेममा बस्थे। तिनले आक्रमणको विरूद्ध रक्षा गर्नका निम्ति यहूदामा मजबूत शहरहरू बसाले।

6 तिनले बेतलेहेम, एताम, तको,

7 बेतसर, सोको, अदुल्लाम,

8 गात, मरेशा, जीप,

9 अदोरेम, लाकीश, अजेका,

10 सोरा, अय्यालोन अनि हेब्रोन शहरहरूको मरम्मत गरे। यहूदा अनि बिन्यामीनका यी शहरहरूलाई मजबूत तुल्याइयो।

11 जब रहबामले ती शहरहरूलाई सुदृढ तुल्याए तब तिनले त्यसमा सेनापतिहरू राखे। तिनले ती शहरहरूमा भोजन, तेल र दाखरसको आपूर्तिको व्यवस्था पनि गरिदिए।

12 रहबामले हरेक शहरमा ढाल र भालाहरू पनि राखे र शहरहरूलाई अत्यन्त मजबूत तुल्याए। रहबामले यहूदा अनि बिन्यामीनका मानिसहरू अनि शहरहरू आफ्ना अधिकारमा राखे।

13 इस्राएल भरिका पूजाहारी अनि लेवीहरू रहबाम सित सहमत भए अनि तिनीसित मिले।

14 लेवीहरूले आफ्ना भूमि र तिनीहरूका आफ्नै खेतहरू छोडे अनि यहूदा र यरूशलेममा आए। लेवीहरूले यसो गरे किनभने यारोबाम अनि तिनका छोराहरूले परमप्रभुको सेवकको रूपमा तिनीहरूलाई सेवा गर्न दिन अस्वीकार गरेका थिए।

15 यारोबामले उच्च स्थानहरूमा सेवा गर्नका निम्ति, जहाँ तिनले बनाएका बाख्रा अनि बाछाका मूर्तिहरू स्थापना गरेका थिए, आफ्नै पूजाहारीहरू छाने।

16 जब लेवीहरूले इस्राएल छाडे तब इस्राएलका सम्पूर्ण परिवार समूहका ती मानिसहरू, जो इस्राएलका परमप्रभु परमेश्वर प्रति विश्वसनीय थिए, आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई बलि चढाउन यरूशलेम आए।

17 ती मानिसहरूले यहूदा राज्यलाई शक्तिशाली बनाए। तिनीहरूले सुलेमानका छोरा रहबामलाई तीन बर्षसम्म सम्मर्थन गरे। तिनीहरूले यसो गरे किनभने त्यस समयमा तिनीहरूले दाऊद अनि सुलेमानको अनुशरण गरे।


रहबामका परिवार

18 रहबामले महलतलाई विवाह गरे। तिनका पिता यरीमोत थिए। तिनकी आमा अबीहेल थिइन्। यरीमोत दाऊदका छोरा थिए। अबीहेल एलीआबकी छोरी थिइन्, अनि एलीआब यिशैका छोरा थिए।

19 महलतबाट रहबामका यी छोराहरू भएः येयूश, शमर्याह अनि साहम।

20 तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमको नातिनी थिइन्। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भएः अबियाह, अत्तै, जीजा अनि शलोमीत।

21 रहबामले माकालाई तिनका अरू सबै पत्नीहरू र सेविकाहरूलाई भन्दा अधिक प्रेम गर्थे। माका अब्शालोमकी नातिनी थिइन्। रहबामका अठ्ठार जना पत्नीहरू र साठ्ठीजना सेविकाहरू थिए। रहबाम अठ्ठाईस जना छोरा अनि साठ्ठी जना छोरीहरूका पिता थिए।

22 रहबामले अबियाहलाई आफ्ना भाइहरूका प्रमुख छाने। रहबामले यसो गरे किनभने तिनले अबियाहलाई राजा बनाउने योजना गरेका थिए।

23 रहबामले बुद्धिमत्ता पूर्वक काम गरे अनि आफ्ना सबै छोराहरूलाई यहूदा अनि बिन्यामीन देश भरिका हरेक सुदृढ शहरमा फैलाए। अनि रहबामले आफ्ना छोराहरूलाई प्रशस्त आपूर्तिको व्यवस्था गरिदिए। तिनले आफ्ना छोराहरूका निम्ति पत्नीहरू खोजि दिए।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy