१ थेसलोनिकी 1 - पवित्र बाइबल1 पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वपर र प्रभु येशू ख्रीष्टमा छ। परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्। थिस्सलोनिकीहरूको जीवन र विश्वास 2 प्रार्थना गर्दा हामी सधैँ तिमीहरू सबैलाई सम्झन्छौं र तिमीहरू सबैको लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं। 3 तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौ त्यसको लागि हामी सधैँ प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिन्छौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिँदछौं। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिंदछौ। 4 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो। 5 हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासित अनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ। 6 अनि तिमीहरू हामी जस्तै र प्रभु जस्तै भयौ। तिमीहरूले धेरै दुःख पाएर पनि आनन्दपूर्वक शिक्षा ग्रहण गर्यो। त्यो आनन्द पवित्र आत्माले दिनुभएको हो। 7 म्यासिडोनिया र अखैयाका सबै विश्वासीहरूका निम्ति तिमीहरू एक उदाहरण बन्यौ। 8 तिमीहरूबाटै म्यासिडोनिया र अखैयामा परमेश्वरको संदेश फिंजियो। र परमेश्वर प्रति तिमीहरूको विश्वास प्रत्येक ठाँउका मानिसहरूले बुझे। यसकारण तिमीहरूको विश्वास बारे हामीले केही भन्नु पर्दैन। 9 हामी त्यहाँ छँदा तिमीहरूले जुन असल तरिकाले हामीलाई स्वीकार गर्यौ, त्यो कुरा सबै तिर गरिन्छ। तिमीहरूले कसरी मूर्ति पूज्न छोड्यौ र जीवित र सत्य परमेश्वरको सेवा गर्न थाल्यौ यस बारे पनि तिनीहरू कुरा गर्छन्। 10 परमेश्वरको पुत्र स्वर्गबाट आउनु हुने प्रतीक्षामा तिमीहरूले मूर्ति-पूजा छोड्यौ। परमेश्वरले उहाँको पुत्रलाई मृत्युबाट बौराउनु भयो। उहाँ येशू हुनुहुन्छ जसले परमेश्वरको आउने रिसबाट हामीलाई बचाउनु हुनेछ। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International