Online Bible

- Reklamy -

१ शमूएल 8 - पवित्र बाइबल


इस्राएलीहरूले राजाको माग गरे

1 शमूएल जब वृद्ध भए, तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्त्ता नियुक्त गरे।

2 शमूएलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहिं अबियाह थियो। योएल र अबियाह बेर्शबामा न्यायकर्ता थिए।

3 तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे।

4 यसर्थ इस्राएलका सबै बूढा-प्रधानहरू शमूएललाई भेट्न रामामा भेला भए।

5 बूढा-प्रधानहरूले शमूएललाई भने, “तपाईं बूढा हुनुभयो, तपाईंका छोराहरू तपाईं जस्ता ठीक बाटामा छैनन्। अब, हामीलाई शासन अनि न्याय गर्न अरू देशहरूको जस्तै राजा दिनुहोस्।”

6 यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे।

7 शमूएललाई परमप्रभुले भन्नुभयो, “मानिसहरूले जसो भन्छन् त्यसै गर। तिनीहरूले तँलाई अस्वीकार गरेका छैनन्। बरू मलाई अस्वीकार गर्दैछन्। तिनीहरूले मलाई तिनीहरूको राजा हुन अस्वीकार गरिरहेका छन्।

8 तिनीहरूले सधैँ जे गर्थे त्यही गर्दैछन्। मैले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याएँ। तर तिनीहरूले आज मलाई छाडेर अन्य देवताहरूको सेवा गरे। तिनीहरूले तँलाई पनि त्यस्तै गर्दैछन्।

9 यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनु। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।”

10 ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूएलले मानिसहरूलाई बताए।

11 शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।

12 “राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका। “राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्।

13 “राजाले तिमीहरूका छोरीहरूलाई पनि लानेछन्। तिनीहरूमध्ये कतिलाई खाना पकाउन र रोटी पकाउन विवश गर्नेछन्। अनि कसैलाई अत्तर बनाउन बाध्य गर्नेछन्।

14 “राजाले तिमीहरूको सबभन्दा असल खेतहरू, दाखको बगैंचा र भद्राक्षका रूखहरू लानेछन्। अनि तिनीहरूलाई उसको सेवकहरूको हातमा सुम्पिदिनेछन्।

15 तिमीहरूको अन्न र दाखको फसलको दशौ भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्।

16 “राजाले तिमीहरूका कमारा-कमारीहरूलाई पनि लैजाने छन्। उनले असल जातका पशु र गधाहरू पनि तिमीहरूबाट लिनेछन्। यी सबै लगेर आफ्नै प्रयोगमा लगाउँने छन्।

17 तिमीहरूका भेंडा बाख्राको दशौ भाग पनि तिनले लिनेछन्। “अनि तिमी आफैं पनि राजाको दास बनिनेछौ।

18 तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।”

19 तर मानिसहरूले शमूएलको कुरा सुन्दैसुनेन्। तिनीहरूले भने, “होइन! हामीलाई शासन गर्ने एउटा राजा नै चाहिन्छ।

20 तब हामी पनि अरू देश सरह हुनेछौ, हामीलाई नेतृत्व दिने, हाम्रो अघि युद्ध लड्ने, हाम्रा निम्ति युद्ध गर्ने हाम्रा राजा हुनेछन्।”

21 शमूएलले मानिसहरूको भनाइ सुने पछि शमूएलले परमप्रभुलाई तिनीहरूका कुरा दोहोर्याइदिए।

22 परमप्रभुले जवाफ दिनु भयो, “तिनीहरूले चाहे जस्तै! तिनीहरूलाई एउटा राजा देऊ।” तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “ठीकै छ! तिमीहरूले एउटा राजा पाउँने भयौ। अहिले सबै तिमीहरूको शहरमा जाऊ।”

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy