१ शमूएल 29 - पवित्र बाइबलदाऊद हामीसित आउनसक्दैन 1 पलिश्तीहरूले अपेकमा तिनीहरूका सबै सैनिक भेला गराए। इस्राएलीहरूले यिज्रेलको पानीको मुहान नेर छाउनी हाले। 2 पलिश्ती अगुवाहरूले सय र हजारको संख्यामा मानिसहरूलाई अघि बढाए। दाऊद र तिनका मानिसहरू आकीशको पछिल्तिर लागे। 3 पलिश्ती कप्तानहरूले सोधे, “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?” आकीशले ती कप्तानहरूलाई भने, “यिनी दाऊद हुन्। दाऊद शाऊलका अधिकारीहरू मध्ये एकजना थिए। दाऊद मसँग धेरै अघिदेखि छन्। शाऊललाई त्यागेर आए र मसँग बस्न थाले यता मैले कुनै भूल-त्रुटी दाऊदमा पाइनँ।” 4 तर पलिश्ती कप्तानहरू आकीशसँग रिसाए। तिनीहरूले भने, “दाऊदलाई फर्काउनुहोस्। तपाईंले दिनुभएको शहरमा ऊ फर्कनु पर्छ। रणभूमिमा ऊ हामीसित जान सक्दैन। नत्रभने हाम्रो आफ्नै छाउनी भित्र शत्रु हुनेछ। उसले आफ्नो राजालाई खुशी पार्न हाम्रै मानिस मार्नेछ। 5 दाऊद त्यही मानिस हो जसको विषयमा इस्राएलीहरू यसो भनेर गीत गाउँदै नाच्थेः ‘शाऊलले हजार शत्रुहरू मारे, तर दाऊदले दश हजार मारे।’” 6 यसकारण आकीशले दाऊदलाई बोलाएर भने, “जीवित परमप्रभुको नाउँमा, तिमी मेरो भक्त छौ। म अति प्रसन्नहुने थिएँ यदि तिमीले मेरा सेनामा योगदान दिएको भए। शुरूदेखि नै तिमी भरपर्दो भएका छौ। तर पलिश्ती सेनाहरूले तिमीलाई सहमति गर्न चाँहदैनन्। 7 शान्तिसित फर्क, पलिश्ती कप्तानहरूका विरूद्धमा कुनै गलत काम नगर।” 8 दाऊदले सोधे, “मेरो गल्ती के हो? जबदेखि म तपाईंकहाँ आएँ मेरो केही दोष पाउनु हुन्छ? मेरा मालिक मेरा परमप्रभु राजाको शत्रुहरूसित युद्धगर्न मलाई किन बाधा दिनुहुन्छ?” 9 आकीशले जवाफमा भने, “मलाई थाहा छ तिमी असल मानिस हौ। तिमी परमेश्वरका स्वर्गदूत हौ। तर पलिश्ती सेनापतिहरूले भन्दैछन्, ‘दाऊद हामीसित युद्ध भूमिमा जान सक्दैन।’ 10 भोलि बिहानै तिमी र तिम्रा मानिसहरूसित मैले दिएको शहरमा फर्केर जाऊ। यसकरण घाम झुल्कनु अघि नै फर्केर जाउ।” 11 यसकारण दाऊद र तिनका मानिसहरू बिहानै उठेर पलिश्ती देशतिर फर्के। बीचमा यता पलिश्तीहरू चाँहि यिज्रेल तिर बढे। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International