Online Bible

- Reklamy -

१ पत्रुस 4 - पवित्र बाइबल


परिर्तित जीवन

1 जब ख्रीष्ट आफ्नो शरीरमा हुनु हुन्थ्यो, उहाँले यातना भोग्नु भयो। यसर्थ तिमीहरूले ख्रीष्ट कै विचारमा स्वयंलाई तयार पार्नु पर्छ। एक मानिस जसले आफ्नो शरीरमा रहँदा यातना भोगेकाछन् उसले पाप गर्न छोडेको छ।

2 तिमीहरू स्वयंलाई तयार पार जसद्वारा तिमीहरू परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरूको विचार अनुसार होइन।

3 बितेको समयमा तिमीहरूले ती कुराहरू गरेर अत्याधिक समय नष्ट गर्यौ जुन विश्वास नगर्नेहरूले गर्छन्। तिमीहरू व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रहयौ।

4 तिमीहरू त्यस्ता “असभ्य वस्तुहरूमा” भाग नलिँदा तिनीहरू आश्चर्य मानिरहेका छन्। येसैले तिनीहरू निन्दनीय कुरा गर्छन्।

5 तर ती मानिसहरूले ख्रीष्टलाई लेखा दिनेछन् जो मरेका र जिउँदा मानिसहरूको न्याय गर्न तयार हुनुहुन्छ।

6 ती मानिसहरूलाई सुसमाचार प्रचार गरियो जो अहिले मरिसकेका छन् किनभने तिनीहरूले आफ्नो जीवन कालमा गरेका कर्मका लागि अरू सबैलाई गरिए जस्तै तिनीहरूलाई न्याय गरिनेछ। तर तीनीहरू प्रति सुसमाचार प्रचार गरियो जसद्वारा तिनीहरू परमेश्वर जीवित रहनु भए झैं आत्मामा जीवित रहन सक्छन्।


परमेश्वरका उपहारहरूको असल व्यवस्थापक बन

7 समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरूलाई प्रार्थना गर्नमा सहायता दिनेछ।

8 सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरू ढाक्छ।

9 विना विरोध एक अर्कामा अतिथि सत्कार गर।

10 तिमीहरू प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरूलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरू जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।

11 मनिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरूले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँकै हो। आमिन।


ख्रीष्टियानको रुपमा यातना भोग्नु

12 मेरा मित्रहरू, तिमीहरूले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरूको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घट्ना घटिरहेछ।

13 तर तिमीहरू खुशी हुनु पर्छ किनकि तिमीहरू ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरू खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ।

14 तिमीहरूले ख्रीष्टलाई अनुशरण गरेकोमा जब मानिसहरूले गाली गर्छन् तिमीहरू धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरूसँग हुन्छ।

15 तिमीहरू कसैले पनि हत्यारा, चोरी अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरू जस्तो यातना भोग्न नपरोस्।

16 तर आफू “ख्रीष्टियान” भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरूले परमेश्वरको प्रशंसा गर्नु पर्छ।

17 न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरूको के अवस्था हुनेछ?

18 “यदि धार्मिक व्यक्तिलाई पनि बचाँउन अत्यन्तै गाह्रो पर्छ भने, त्यो मानिस जो परमेश्वरको विरुद्धमा छ अनि महा-पापी छ, उमाथि के आउने हो?”

19 यसर्थ, ती मानिसहरू जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरूले आफ्ना प्राणहरू उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरूलाई सृष्टि गर्नु भयो अनि तिनीहरूले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरूले धार्मिक कार्यहरू गरिरहनु पर्छ।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy