Online Bible

- Reklamy -

१ पत्रुस 1 - पवित्र बाइबल

1 पत्रुस, येशू ख्रीष्टका प्रेरितद्वारा अभिवादन! परमेश्वरद्वारा चुनिएको जो आफ्ना घरदेखि टाढामा पोन्टस्, गलातिया, क्यापडोसिया, एशिया अनि बिथनियाभरि फैलिएर बसेका मानिसहरू प्रति।

2 परमेश्वरले तिमीहरूलाई पवित्र मानिस बनाउनु भएको थियो। तिमीहरूलाई पवित्र तुल्याउने कार्य आत्माको हो। परमेश्वरको आज्ञाकारी र येशू ख्रीष्टको रगतले अभिषेक गरी शुद्ध पार्न तिमीहरू चुनिएका थियै। परमेश्वरको अनुग्रह तिमीहरूमा अधिक भन्दा अधिक बढेर जाओस्।


जिउँदो आशा

3 परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन् उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ।

4 अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरूका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरूका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरू ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरूले मुक्ति पाउँदैनौ।

5 तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरू सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरूलाई समयको अन्तमा दिइनेछ।

6 यसले तिमीहरूलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरूलाई दु:खी बनाँउछ।

7 यी दु:ख-कष्टहरू किन हुन्छन्? तिमीहरूको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरूमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।

8 तिमीहरूले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरू उहाँलाई प्रेम गर्छौ। तिमीहरूले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरू उहाँमाथि विश्वास गर्छौ। तिमीहरू अकथनीय अनि गौरवमय आनन्दले परिपूर्ण छौ।

9 तिमीहरूको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरूको आत्मा बचाउँनु हो। अनि तिमीहरूले तिमीहरूको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ।

10 अगमवक्ताहरूले सावधानपूर्वक अध्ययन गरे अनि यो मुक्तिको विषयमा जान्ने कोशिश गरे। ती अगमवक्ताहरूले अनुग्रहको बारेमा अगमवाणी गरे जो तिमीहरूलाई देखाइयो।

11 ख्रीष्टको आत्मा ती अगमवक्ताहरूमा थियो। अनि आत्माले ती दु:ख-कष्टहरूको बारेमा, जो ख्रीष्टहरूको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दु:ख कष्टहरू पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरूले तिनीहरूलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरू कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरूले यो जान्ने कोशिश गरे।

12 यो तिनीहरूलाई देखाइयो कि जुन सेवा तिनीहरूले गरे तिनीहरू स्वयंका निम्ति होइन। ती अगमवक्ताहरूले तिमीहरूको सेवा गरिरहेका थिए जब तिनीहरूले यो कुराको विषयमा भने जो अहिले तिमीहरूले सुन्यौ। तिनीहरू जसले तिमीहरूलाई सुसमाचार प्रचार गरे तिमीहरूलाई ती कुराहरू भने। तिनीहरूले तिमीहरूलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरू ती कुराहरू हुन जुन स्वर्गदूतहरू पनि जान्न उत्सुक छन्।


पवित्र जीवनको निम्ति आह्वान

13 यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरूले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरूलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ।

14 विगतमा तिमीहरूले यस विषयमा बुझेनौ, यसर्थ तिमीहरू नराम्रा कुराहरूले डोर्याइएका थियौ। तर अहिले तिमीहरू परमेश्वरका आज्ञाकारी बालकहरू हौ। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौ, त्यसरी नबाँच।

15 तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनुभयो।

16 यो धर्मशास्त्रमा लेखिएको छ, “पवित्र बन, किनभने म पवित्र छु।”

17 तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरू झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरू बाँच्नु पर्छ।

18 तिमीहरू जान्दछौ कि विगत समयमा तिमीहरू लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरूले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरूबाट सिक्यौ जो तिमीहरू भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरूलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरू किनियौ ती वस्तुहरूद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ।

19 तर तिमीहरू ख्रीष्टको बहुमूल्य रगतले किनियौ, जो दोषरहित भेंड़ाको पाठो हुनुहुन्छ।

20 विश्व निर्माण अघि नै ख्रीष्ट चुनिनु भएको थियो। तर तिमीहरूको लागि यो अन्तिम समयमा उहाँलाई संसारमा चिनाइयो।

21 ख्रीष्टद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरूको विश्वास अनि आशा परमेश्वरमा छ।

22 अहिले, तिमीहरूले साँच्चो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर।

23 तिमीहरू फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरू सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ।

24 धर्मशास्त्रले भन्छ: “मानिसहरू सधैँ बाँच्तैनन् तिनीहरू घाँस झैं हुन्, तिनीहरूको महिमा घाँसको फूल झैं हो। घाँस ओइलिन्छ, अनि फूलहरू झर्छन्।

25 तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।” अनि त्यो, यो वचन हो जुन तिमीहरूलाई भनियो।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy