१ कोरिन्थी 11 - पवित्र बाइबल1 मेरो उदाहरण लिने चेष्टा गर जस्तो म ख्रीष्टको उदाहरण लिन्छु। मालिकको अधीनमा हुनु 2 म तिमीहरूको प्रशंसा गर्दछु कारण तिमीहरूले सबै कुरामा मलाई सम्झन्छौ अनि मैले दिएको शिक्षालाई तिमीहरूले ठीकसँग पालन गर्दछौ। 3 म चाहन्छु कि तिमीहरूले यो पनि जानि राखः प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुरुष हो। र ख्रीष्टको शिर परमेश्वर हुन्। 4 हरेक पुरुष जसले शिरलाई छोपेर अगमवाणी गर्दछ वा प्रार्थना गर्दछ उसले शिरलाई अनादर गर्दछ। 5 तर हरेक स्त्री जसले प्रार्थना वा अगमवाणी गर्दछे उसले आफ्नो शिर ढाक्नु पर्छ। यदि उसको शिर छोपिन भने उसले आफ्नो शिरलाई अनादर गरेकी हुन्छे। तब ऊ शिर खौरेकी स्त्री जस्तै हुन्छे। 6 कुनै स्त्रीले आफ्नो शिर छोप्दिन भने, तब यो उसले जम्मै केश काटेको जस्तै छ। तर जब केश काट्नु वा शिर खौरनु एउटी स्त्रीको लागि शरमको कुरा हुन्छ यसैले आफ्नो शिर छोप्नु पर्छ। 7 पुरुषले आफ्नो शिर ढाक्नु पर्दैन। किनकि ऊ परमेश्वरको प्रतिरूप हो ऊ परमेश्वरको महिमा हो। तर महिला पुरूषको महिमा हो। 8 पुरुष स्त्रीदेखि आएको होइन, तर स्त्री पुरुषदेखि आएको हो। 9 अनि पुरुष स्त्रीको लागि बनिएको होइन तर स्त्री पुरुषको लागि बनिएकी हो। 10 र त्यसैकारणले अधीनताको चिन्ह स्वरूप स्त्रीले आफ्नो शिर केही चीजले छोपेकी हुनुपर्छ। स्वर्गदूतहरूको कारणले उसले यसो गर्नु पर्दछ। 11 तथापि प्रभुमा स्त्री पुरुषकोलागि महत्वपूर्ण छ र पुरुष स्त्रीको लागि महत्वपूर्ण छ। 12 यो साँच्चो हो कि स्त्री पुरुषदेखि आएकी हो तर पुरुष पनि स्त्रीबाट जन्मेको हो। वास्तवामा सबै कुरो परमेश्वरबाटै आउँदछ। 13 यो आफैं निर्णय गर के स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्नु ठीक होला? 14 लामो केश राख्नु पुरुषको निम्ति शरमको कुरो हो भन्ने कुरो प्रकृति धरिले हामीलाई सिकाउँछ। 15 तर लामो केश हुनु स्त्रीको निम्ति सम्मानको कुरो हुन्छ। स्त्रीलाई आफ्नो शिर ढाक्नलाई लामो केश दिइएको छ। 16 यस विषयमा कोही मानिस अझै बहस गर्न खोज्छन्। हामी र परमेश्वरका मण्डलीहरूको त्यस्तो व्यवहार छैन। प्रभुको भोज 17 अब यी विषयहरूमा म तिमीहरूलाई भन्छु, तिमीहरूको प्रशंसा गर्दिन। तिमीहरूका सभाले सहायता भन्दा तिमीहरूलाई खति नै गर्छ। 18 पहिलो कुरो त, म सुन्दैछु कि मण्डलीमा जब तिमीहरू भेला हुँदछौ तिमीहरू बाँडिन्छौ। अनि केही अंशमा म यस कुरालाई पत्याउँछु। 19 तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ। 20 जब तिमीहरू सबै एकत्र हुन्छौ तिमीहरूले वास्तवमा प्रभुको भोज खाइरहेका हुँदैनौ। 21 किनभने जब तिमीहरू खान्छौ एउटाले अर्कालाई नपर्खी खान्छौ। कतिले अलिकति पनि खानै वा पिउनै नपाई कति चाँहि टन्न भइसक्छन्। 22 तिमीहरू आफ्नै घरमा खान अनि पिउन सक्छौ! यस्तो लाग्छ, तिमीहरू सोच्छौ कि परमेश्वरको मण्डली महत्वहीन छ। जो गरीब छ तिनलाई तिमीहरू शरममा पार्दछौ। म के भनुँ? म तिमीहरूको प्रशंसा गर्दिन। 23 तिमीहरूलाई म त्यही शिक्षा दिंदैछु जुन मैले प्रभुबाट पाएँ त्यो रात जब येशू पक्राउ पर्नुभयो, उहाँले रोटी लिनुभयो। 24 र त्यसको निम्ति धन्यवाद दिनुभयो। अनि उहाँले रोटी भाँच्नु भयो र भन्नुभयो, “यो मेरो शरीर हो, यो तिमीहरूकोलागि हो। यो मेरो समझना को निम्ति गर।” 25 उसरी नै उनीहरूले खाए पछि येशूले दाखरसको कचौरा लिनुभयो। येशूले भन्नुभयो, “यो दाखरस परमेश्वरबाट आफ्ना मानिसलाई नयाँ करार हो। यो नयाँ करार मेरो रगतसित शुरू हुँदछ। जहिले पनि तिमीहरू यो पिउँछौ मेरो सम्झनामा गर्ने गर।” 26 जब-जब तिमीहरू यो रोटी खाँदछौ र यो कचौराबाट पिउँदछौ उहाँ नआउन्जेल प्रभुको मृत्युको घोषणा गर्दछौ। 27 त्यसैकारण कसैले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ भने, उसले प्रभुको शरीर र रगतको विरुद्ध पाप गर्छ। 28 हरेकले रोटी खान र कचौराबाट पिउन अघि आफ्नो हृदय जाँच्नु पर्छ। 29 यदि कसैले त्यो प्रभुको शरीर हो भन्ने नचिनी रोटी खायो र कचौराबाट पियो भने उसको ख्वाई र पियाईले आफैंमा न्यायाकोलागि दण्ड निम्त्याउछ। 30 त्यसै कारणले तिमीहरूका समाजमा धेरैजना रोगी औ कमजोरीहरू छन् र कति मरेर गए 31 तर हामीले आफैंलाई ठीकसित जाँच्यौं भने परमेश्वरले हामीलाई जाँच्न हुँदैन। 32 तर जब प्रभूले हामीलाई जाँच्नु हुन्छ उहाँले सही मार्ग प्रदर्शनको लागि हामीलाई अनुशासित गराउनु हुन्छ ताकि यो संसारका अरू मानिसहरू सरह तिमीहरूलाई दण्ड नहोस् भनी उहाँले यसो गर्नु हुन्छ। 33 यसैले मेरा दाज्यू-भाइ, दिदी-बाहिनीहरू हो, जब तिमीहरू खानका निम्ति भेला हुन्छौ एका-अर्कालाई पर्ख। 34 कोही भोकाएको छ भने आफ्नै घरमै खाओस्। यसै गर जसमा कि तिमीहरूको जमघटले तिमीहरूमाथि नै परमेश्वरको दण्ड ननिम्त्याओस्। अरू कुराहरू बारे के कसो गर्नु त्यो म जब आउँछु, भन्नेछु। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International