Online Bible

- Reklamy -

जकरिया 9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


इस्राएलका शत्रुहरूमाथि दण्ड

1 एक अगमवाणी: याहवेहको वचन हद्राक सहरको विरुद्धमा छ, र उहाँ दमस्कसमा आएर विश्राम गर्नुहुनेछ; किनकि सबै मानिसहरू र इस्राएलका सबै कुलहरूका आँखा याहवेहमाथि नै छन्;

2 अनि उहाँको दृष्‍टि हमातमाथि पनि छ, जो त्यसको सिमानामा छ; अनि टायर र सीदोनमाथि छ, तथापि तिनीहरू अति धेरै दक्ष छन्।

3 टायरले आफ्नो लागि एउटा बलियो किल्‍ला बनाएको छ; त्यसले चाँदी धुलोझैँ, र सुन सडकको फोहोरझैँ थुपारेको छ।

4 तर प्रभुले त्यसको सम्पत्ति खोस्‍नुहुनेछ, र त्यसको शक्तिलाई समुद्रमा नाश पारिदिनुहुनेछ; अनि त्यो आगोद्वारा भस्म हुनेछ।

5 अश्कलोनले त्यो देख्नेछ र डराउनेछ; गाजा सहर कष्‍टले छटपटाउनेछ; अनि एक्रोन सहर पनि त्यसको आशा हराउनेछ, र गाजा सहरले आफ्नो राजा गुमाउनेछ; अनि अश्कलोन उजाड हुनेछ।

6 विदेशीहरूले अश्दोदलाई कब्जा गर्नेछन्; अनि म पलिश्तीहरूको घमण्डलाई नष्‍ट गरिदिनेछु।

7 म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतका बीचबाट घृणित कुरा खोस्‍नेछु। तिनीहरूबाट बचेका जतिचाहिँ हाम्रा परमेश्‍वरका हुनेछन्, र तिनीहरू यहूदाको वंशजस्तै हुनेछन्; एक्रोनचाहिँ यबूसीहरूजस्ता हुनेछन्।

8 तर म मेरो भवनलाई आक्रमणकारीबाट रक्षा गर्न चारैतिर छाउनी बनाउनेछु। कुनै पनि अत्याचारीले मेरा मानिसहरूलाई फेरि कहिल्यै जित्नेछैन; किनकि अहिले मैले निगरानी गरिरहेको छु।


सियोनका राजाको आगमन

9 हे सियोनकी छोरी, खूब आनन्द गर्! यरूशलेमकी छोरी, चर्को सोरमा करा! हेर्, तेरो राजा तँकहाँ आउँदैहुनुहुन्छ; उहाँ धार्मिक र विजयी हुनुहुन्छ; नम्र र गधामाथि सवार हुनुभएर आउनुहुन्छ; गधाको एउटा बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।

10 म एफ्राइमबाट लडाइँका रथहरू र यरूशलेमबाट युद्धका घोडाहरू नष्‍ट गर्नेछु; अनि युद्धको धनु भाँचिनेछ। उहाँले राष्ट्रहरूलाई शान्ति घोषणा गर्नुहुनेछ। उहाँको राज्य शासन एउटा समुद्रदेखि अर्को समुद्रसम्म र यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्म नै फैलिनेछ।

11 तेरो विषयमा चाहिँ तँसँग भएको मेरो रगतको करारको कारण, म तेरा कैदीहरूलाई पानीविनाको खाडलबाट मुक्त गरिदिनेछु।

12 हे आशावादी कैदीहरू, तिमीहरू आफ्ना बलियो किल्‍लातिर फर्क; अहिले पनि म घोषणा गर्छु, कि म तिमीहरूलाई दोबर गरी पुनर्स्थापित गर्नेछु।

13 म यहूदालाई मेरो धनु दोबारेझैँ दोबार्नेछु, र त्यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, म तेरा छोराहरूलाई, ग्रीसका छोराहरूको विरुद्धमा सुर्‍याउनेछु; अनि सियोनलाई एउटा योद्धाको तरवारझैँ बनाउनेछु।


याहवेह देखा पर्नुहुनेछ

14 त्यसपछि याहवेह तिनीहरूमाथि देखा पर्नुहुनेछ; उहाँको वाण बिजुलीझैँ चम्कनेछ। सर्वशक्तिमान् याहवेहले तुरही फुक्नुहुनेछ; उहाँ दक्षिणका आँधीहरूमा आउनुहुनेछ;

15 अनि सेनाहरूका याहवेहले तिनीहरूलाई रक्षा गर्नुहुनेछ। तिनीहरूले नाश गर्नेछन्, र घुयेँत्रोका ढुङ्गाहरूले परास्त गर्नेछन्। तिनीहरूले पिउनेछन् र मद्य पिएझैँ गर्जनेछन्; तिनीहरू वेदीका कुनाहरूमा राखिएका ठूला-ठूला छर्कने कचौराजस्तै भरिनेछन्।

16 त्यस दिन याहवेह तिनीहरूका परमेश्‍वरले गोठालोले आफ्ना बगाललाई बचाएझैँ बचाउनुहुनेछ। उहाँको देशमा तिनीहरू मुकुटका चम्किला रत्नझैँ चम्कनेछन्।

17 तिनीहरू अति आकर्षित र सुन्दर हुनेछन्! जवान मानिसहरू अन्‍नले हृष्‍टपुष्‍ट हुनेछन्, र जवान स्त्रीहरूचाहिँ नयाँ दाखमद्यले आनन्दित हुनेछन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy