Online Bible

- Reklamy -

जकरिया 3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


प्रधान पुजारीको निम्ति सफा लुगाहरू

1 तब याहवेहले मलाई उहाँका स्वर्गदूतको अगाडि उभिरहेका प्रधान पुजारी यहोशूलाई देखाउनुभयो, र शैतानचाहिँ यहोशूको विरोध गर्न तिनकै दाहिनेतिर उभिरहेको थियो।

2 याहवेहले शैतानलाई भन्‍नुभयो, “हे शैतान, याहवेहले तँलाई हकारून्! यरूशलेमलाई चुन्‍नुहुने याहवेहले तँलाई हकारून्! के यो मानिस आगोबाट थुतेर निकालिएको जलिरहेको अगुल्टो होइन र?”

3 अनि यहोशूचाहिँ मैला लुगा लगाएर स्वर्गदूतको अगाडि उभिएका थिए।

4 स्वर्गदूतले आफ्नो अगाडि उभिरहेकाहरूलाई भने, “त्यसका मैला लुगाहरू फुकालिदेओ।” तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु, र म तिमीलाई बहुमूल्य पोशाक पहिराइदिनेछु।”

5 तब मैले भनेँ, “यसको शिरमा एउटा सफा फेटा लगाइदेओ।” यसकारण तिनीहरूले यहोशूको शिरमा एउटा सफा फेटा लगाइदिए र लुगा पहिराइदिए। त्यस बेला याहवेहको स्वर्गदूत छेउमै उभिरहेका थिए।

6 तब याहवेहका दूतले यहोशूलाई यो आज्ञा दिए:

7 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘यदि तँ मेरो मार्गमा हिँडिस् र मैले चाहेका जिम्मेवारीहरू पालन गरिस् भने तैँले मेरो भवनमा अधिकार गर्नेछस् र मेरा चोकहरूको हेरचाह गर्नेछस्; अनि म तँलाई यहाँ उभिरहेकाहरूका बीचमा ठाउँहरू दिनेछु।

8 “ ‘सुन, हे प्रधान पुजारी यहोशू, अब तँ र तेरो अगाडि बसेका तेरा सहयोगीहरू, तिमीहरू जो आउने कुराहरूका चिन्ह हौ: हेर, म मेरो सेवकलाई ल्याउनेछु, जसलाई हाँगा भनिनेछ।

9 मैले यहोशूको अगाडिपट्टि राखेको ढुङ्गालाई हेर! त्यस ढुङ्गामा सात वटा आँखाहरू छन्, र म त्यसमाथि एउटा लेखोट खोप्नेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ, ‘अनि म यस देशको पाप एकै दिनमा हटाइदिनेछु।

10 “ ‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई आफ्नो दाख र नेभाराको बोटमुनि बस्‍नलाई निम्तो दिनेछौ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy