Online Bible

- Reklamy -

श्रेष्‍ठगीत 8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यदि तपाईं मेरी आमाको दूध खाएर हुर्केको, मेरा दाजुभाइझैँ हुनुहुँदो हो त! तपाईंलाई बाहिर भेट्दा म म्वाइँ खानेथिएँ, र कसैले मेरो निन्दा गर्ने थिएन।

2 तपाईंलाई डोर्‍याएर म मेरी आमाको घरमा ल्याउनेथिएँ— जुन आमाले मलाई शिक्षा दिएकी छन्। म तपाईंलाई मसाला मिसाएको दाखमद्य, मेरा अनारका रस पिउन दिनेथिएँ।

3 उहाँको देब्रे हात मेरो शिरमुनि छ, र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ।

4 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई शपथ खुवाएर आज्ञा गर्छु: उचित समय नभएसम्म प्रेमलाई नजगाओ अथवा नबिउँझाओ।


मित्रहरू

5 आफ्ना प्रेमीसित अडेसिएर उजाडस्थानबाट आउँदैगरेका यिनी को हुन्? स्याउको रूखमुनि मैले तपाईंलाई जगाएँ; त्यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिइन्; त्यहीँ नै तिनले सुत्केरी व्यथा लागेर तपाईंलाई जन्म दिएकी थिइन्।


प्रेमिका

6 मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्, तपाईंका पाखुरामा छापझैँ लगाउनुहोस्; किनकि प्रेम मृत्युसमान प्रबल हुँदछ; यसको तिर्सना चिहानझैँ कठोर हुन्छ। यो दन्कने आगोसमान दन्कन्छ, यो शक्तिशाली ज्वाला जस्तै हुन्छ।

7 उर्लेको पानीले पनि प्रेमलाई निभाउन सक्दैन; नदीले पनि त्यसलाई बगाउन सक्दैन। यदि मानिसले प्रेमको निम्ति आफ्नो घरको सारा धनसम्पत्ति दिइहाले तापनि यो पूर्ण अवहेलना हुनेछ।


मित्रहरू

8 हाम्री एउटी जवान बहिनी छिन्, जसका छाती उठेका छैनन्। उनको विवाहको लागि कोही माग्न आएको दिनमा, आफ्नी बहिनीको लागि हामी के गरौँ?

9 यदि ऊ पर्खाल भए त, हामी ऊमाथि चाँदीका बुर्जा बनाउने थियौँ। यदि ऊ ढोका हुँदो हो त, हामी देवदारुका फल्याकले बारेर बन्द गर्ने थियौँ।


प्रेमिका

10 म एक पर्खाल हुँ, र मेरा स्तनहरू धरहराहरूजस्तै छन्। यसरी उहाँका नजरमा म सन्तुष्‍टि तुल्याउने ठहरिएकी छु।

11 बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो; आफ्नो दाखबारी मोहीहरूलाई दिए। हरेकले दाखबारीका फलको सट्टामा हजार सेकेल चाँदी ल्याउनुपर्थ्यो।

12 तर मेरो दाखबारी, जो मेरै अधिकार हो; हे सोलोमन, ती हजार सेकेल तपाईंकै निम्ति हुन्, र दुई सय ती फलफूल रेखदेख गर्नेहरूका निम्ति हुन्।


प्रेमी

13 तिमी, जो दाखबारीमा आफ्ना मित्रहरूका साथमा बास गर्दछौ, तिम्रो सोरलाई सुन्‍न देऊ!


प्रेमिका

14 हे मेरा प्रेमी, बाहिर आउनुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिणजस्तै अथवा जवान मृगजस्तै हुनुहोस्!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy