रोमी 12 - पवित्र बाइबल नेपाली समकालीन संस्करणजिउँदो बलिदान 1 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरको कृपाद्वारा म बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्दो जिउँदो बलिदानको रूपमा अर्पण गर; यही तिम्रो साँचो र व्यवस्थित आराधना हो। 2 यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ। ख्रीष्टको शरीरको एकतामा सेवा 3 किनकि परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई ठूलो नठान, तर परमेश्वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्वासअनुसार नै आफूलाई शान्त भएर जाँच। 4 किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, 5 त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ। 6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने त्यसले आफ्नो विश्वासअनुसार अगमवाणी गरोस्। 7 यदि सेवा गर्ने वरदान छ भने त्यसले सेवा गरिरहोस्; यदि शिक्षा दिने हो भने त्यसले शिक्षा दिइरहोस्; 8 यदि उत्साह दिने हो भने त्यसले उत्साह दिइरहोस्; यदि दान दिने वरदान हो भने उदारतासाथ देओस्; यदि अगुवाइ गर्ने वरदान हो भने परिश्रमसाथ अगुवाइ गरोस्; यदि कृपा देखाउने हो भने प्रसन्नतासाथ कृपा देखाओस्। प्रेमको कार्य 9 प्रेम निष्कपट हुनुपर्छ। दुष्टतालाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो। 10 एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर। 11 कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो। 12 आशामा आनन्दित होओ; सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ। 13 खाँचोमा परेका परमेश्वरका जनहरूसँग बाँडचुँड गर, र पाहुनासत्कार कायम राख। 14 तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; तिनीहरूलाई आशिष् देओ, श्राप होइन। 15 आनन्द गर्नेहरूसँग आनन्दित होओ, र रुनेहरूसँग रोओ। 16 एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैँलाई बुद्धिमानी नसम्झ। 17 कसैसँग दुष्टताको बदला दुष्टता नगर। सबैका दृष्टिमा जे असल छ, त्यही गर्न ध्यान देओ। 18 सम्भव भएसम्म तिमीहरू सबैसँग शान्तिमा बस। 19 मेरा प्रिय मित्रहरू, बदला नलेओ; तर परमेश्वरको क्रोधका लागि छोडिदेओ। किनकि यसरी लेखिएको छ: “बदला लिने काम मेरो हो, म बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ। 20 तर यसको सट्टामा: “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खाना देओ; यदि ऊ तिर्खाएको छ भने पिउनलाई केही देओ। यसो गर्यौ भने तिमीले त्यसको थाप्लोमा आगोको भुङग्रो राखे बराबर हुनेछ।” 21 खराबीद्वारा पराजित नहोओ, तर खराबीलाई भलाइले जित। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.