Online Bible

- Reklamy -

प्रकाश 7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


1,44,000 लाई छाप लगाइएको

1 यसपछि मैले चार जना स्वर्गदूतहरूलाई पृथ्वीको चार कुनामा उभिरहेका देखेँ, जसले जमिनमा, समुद्रमा अथवा कुनै रूखमा कतैबाट पनि बतास नचलोस् भनेर रोक्नलाई पृथ्वीका चारै वटा बतासलाई रोकिराखेका थिए।

2 तब मैले जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखेँ। उनले जमिन र समुद्रलाई हानि गर्ने अख्तियार पाएका चार जना स्वर्गदूतहरूलाई जोडसित भने,

3 “जबसम्म हामीले परमेश्‍वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौँ, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।”

4 तब मैले छाप पाएकाहरूको संख्या सुनेँ, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट 1,44,000 थिए।

5 यहूदाको कुलबाट 12,000 लाई छाप लगाइयो। रूबेनको कुलबाट 12,000 लाई, गादको कुलबाट 12,000 लाई,

6 आशेरको कुलबाट 12,000 लाई, नप्‍तालीको कुलबाट 12,000 लाई, मनश्शेको कुलबाट 12,000 लाई,

7 शिमियोनको कुलबाट 12,000 लाई, लेवीको कुलबाट 12,000 लाई, इस्साखारको कुलबाट 12,000 लाई,

8 जबूलूनको कुलबाट 12,000 लाई, योसेफको कुलबाट 12,000 लाई, बेन्यामीनको कुलबाट 12,000 लाई छाप लगाइयो।


सेतो वस्त्र लगाएका ठूलो भीड

9 त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति र भाषाबाट कसैले गन्‍न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखेँ। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्र पहिरेका र हातमा खजूरका हाँगाहरू लिएका थिए।

10 तिनीहरू चर्को सोरमा कराए: “सिंहासनमा विराजमान हुनुहुने, हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।”

11 सबै स्वर्गदूतहरू सिंहासन, प्रधानहरू र चार वटा जीवित प्राणीहरूका वरिपरि उभिरहेका थिए। तिनीहरू सिंहासनको सामु घोप्टो परे, र यसो भन्दै परमेश्‍वरलाई आराधना गरे,

12 “आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदासर्वदा भइरहोस्! आमेन!”

13 तब प्रधानहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्र पहिरनेहरू को हुन् र कहाँबाट आएका हुन्?”

14 तब मैले उत्तर दिएँ, “हजुर, तपाईं नै जान्‍नुहुन्छ।” अनि तिनले भने, “यी तिनीहरू हुन्, जो महासङ्कष्‍टबाट निस्केर आएका छन्; तिनीहरूले आफ्ना वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।

15 यसकारण “तिनीहरू परमेश्‍वरको सिंहासनको सामु छन्; अनि तिनीहरू उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्; अनि सिंहासनमा बस्‍नुहुनेले आफ्नो उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।

16 ‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्; तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्। तिनीहरूलाई सूर्यको प्रचण्ड तापले पोल्नेछैन।’

17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठाला हुनुहुनेछ; ‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्‍याउनुहुनेछ।’ ‘अनि परमेश्‍वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy