Online Bible

- Reklamy -

प्रकाश 5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


चर्मपत्र र थुमा

1 त्यसपछि मैले सिंहासनमा बस्‍नुहुनेको दाहिने हातमा एउटा चर्मपत्र देखेँ, जसको दुवैतिर लेखिएको थियो; र सात वटा मोहरहरूले बन्द गरिएको थियो।

2 अनि मैले एउटा बलवान् स्वर्गदूतलाई देखेँ, जसले चर्को सोरले यसरी घोषणा गर्दैथिए, “यी मोहरहरू तोडेर चर्मपत्र खोल्ने योग्यको को छ?”

3 तर स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि भएका कसैले पनि त्यस चर्मपत्रलाई खोल्न र पढ्न सकेनन्।

4 म रोइरहेँ किनकि त्यस चर्मपत्र खोल्ने र पढ्ने योग्यको कोही पनि पाइएन।

5 तब धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाको कुलको सिंह, दावीदको सिंहासनको उत्तराधिकारी यो चर्मपत्र र यी सात वटा मोहरहरू खोल्न विजयी हुनुभएको छ।”

6 तब मैले मारिनुभएको थुमाजस्तो कसैलाई सिंहासनको बीचमा उभिरहनुभएको देखेँ, जसको चारैतिर चार वटा जीवित प्राणीहरू र धर्मगुरुहरू थिए। थुमाका सात वटा सिङहरू अनि सात वटा आँखाहरू थिए; जुनचाहिँ संसारभरि पठाइएका परमेश्‍वरका सात आत्माहरू हुन्।

7 थुमाले सिंहासनमा बस्‍नुहुनेको दाहिने हातबाट त्यो चर्मपत्र लिनुभयो।

8 अनि जब त्यो लिनुभयो, तब ती चार वटा जीवित प्राणीहरू र चौबीसजना प्रधानहरू त्यस थुमाको सामु घोप्टो परे। प्रत्येकसित एउटा वीणा थियो, र तिनीहरूले धूपले भरिएका सुनका धुपौराहरू पक्रेका थिए, जुन सन्तहरूका प्रार्थना हुन्।

9 अनि तिनीहरूले एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्र लिने र त्यसका छापहरू खोल्ने योग्यको हुनुहुन्छ; किनकि तपाईं मारिनुभएको थियो; अनि तपाईंको रगतद्वारा तपाईंले मानिसहरूलाई प्रत्येक कुल र भाषाबाट जातिहरूलाई र राष्ट्रहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो।

10 तपाईंले तिनीहरूलाई हाम्रा परमेश्‍वरको सेवा गर्नलाई राज्य र पुजारीहरू बनाउनुभयो; अनि तिनीहरूले संसारमा राज्य गर्नेछन्।”

11 तब मैले दर्शनमा, सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि असंख्य स्वर्गदूतहरूका सोर सुनेँ। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो।

12 चर्को सोरमा तिनीहरूले यो गीत गाए: “मारिनुभएको थुमा, शक्ति, वैभव, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्यका हुनुहुन्छ!”

13 तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि र समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनेँ: “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई प्रशंसा, आदर, महिमा र शक्ति सदासर्वदा भइरहोस्!”

14 चार जीवित प्राणीहरूले भने, “आमेन,” अनि प्रधानहरूले घोप्टो परेर उहाँलाई आराधना गरे।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy