Online Bible

- Reklamy -

प्रकाश 4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


स्वर्गमा भएको सिंहासन

1 त्यसपछि मैले देखेँ, स्वर्गमा एउटा खुला ढोका थियो। मैले पहिले सुनेको सोर तुरहीको आवाजमा मसँग यसरी बोलिरहेको थियो, “यहाँ माथि आऊ, र यसपछि के हुनुपर्छ, सो म तिमीलाई देखाउनेछु।”

2 म तुरुन्तै आत्मामा भएँ; अनि स्वर्गमा मेरो सामु कोही बसिरहनुभएको एउटा सिंहासन थियो।

3 अनि त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्‍लौर र लालमणिझैँ देखिन्थ्यो। त्यहाँ पन्‍नाजस्तै चम्केको इन्द्रेणीले सिंहासनलाई घेरिराखेको थियो।

4 त्यस सिंहासनका वरिपरि चौबीस वटा अरू सिंहासनहरू थिए; अनि यसमाथि सेता वस्त्र लगाएका र शिरमा सुनका मुकुट लगाएका चौबीसजना प्रधानहरू बसेका थिए।

5 सिंहासनबाट बिजुलीको चमक, गड्याङ-गुडुङ र मेघ गर्जनको आवाज निस्किरहेको थियो। सिंहासनको सामु सात वटा बत्तीहरू बलिरहेका थिए, जुन परमेश्‍वरका सात आत्माहरू हुन्।

6 सिंहासनको अगाडि स्फटिकझैँ पारदर्शी काँचको समुद्रजस्तो थियो। सिंहासनको बीचमा चारैतिर चार वटा जीवित प्राणीहरू थिए, र तिनीहरूका अगाडि र पछाडि आँखाहरूले ढाकिएका थिए।

7 पहिलो जीवित प्राणी सिंहजस्तै, दोस्रो गोरुजस्तै, तेस्रोको अनुहार मानिसको जस्तै, चौथोचाहिँ उडिरहेको गरुडजस्तै थियो।

8 प्रत्येक जीवित प्राणीका छ वटा पखेटाहरू थिए; अनि ती चारैतिर, पखेटा भित्रपट्टि पनि आँखाहरूले ढाकिएका थिए। रातदिन तिनीहरूले नरोकीकन यसो भनिरहन्थे: “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् प्रभु परमेश्‍वर, जो हुनुहुन्थ्यो, हुनुहुन्छ, र जो हुनआउनुहुनेछ।”

9 सिंहासनमा बस्‍नुहुने, र सदासर्वदा जिउनुहुनेलाई जब जीवित प्राणीहरूले महिमा, आदर र धन्यवाद चढाउँछन्,

10 तब ती चौबीसजना प्रधानहरू सिंहासनमाथि बस्‍नुहुने अनि सदासर्वदा जिउनुहुनेको सामु घोप्टो पर्छन्, र दण्डवत् गर्छन्। तिनीहरूले आ-आफ्ना मुकुटहरू सिंहासनको सामु राखेर यसो भन्छन्:

11 “हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यका हुनुहुन्छ; किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो; अनि तपाईंको इच्छाद्वारा नै ती सृष्‍टि गरिए; अनि ती अस्तित्वमा आए।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy