Online Bible

- Reklamy -

प्रकाश 19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


स्वर्गमा विजयका गीतहरू

1 यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडले यसरी चिच्याएको सोर सुनेँ: “हल्‍लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्‍वरका हुन्;

2 किनकि उहाँका न्यायहरू सत्य र न्यायपूर्ण छन्। आफ्ना व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्‍ट पार्ने त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ। अनि परमेश्‍वरले त्यससित आफ्ना सेवकहरूका रगतको बदला लिइसक्नुभएको छ।”

3 अनि तिनीहरू फेरि चिच्याए: “हल्‍लेलूयाह! त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।”

4 ती चौबीस प्रधानहरू र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा बस्‍नुहुने परमेश्‍वरलाई आराधना गरे। अनि तिनीहरू यसो भन्दै कराए: “आमेन, हल्‍लेलूयाह!”

5 तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो: “हे उहाँका सबै सेवकहरू हो, तिमीहरू जो उहाँसित डराउँछौ, अर्थात् साना र ठूलाहरू दुवै, हाम्रा परमेश्‍वरलाई प्रशंसा गर।”

6 तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनेँ: “हल्‍लेलूयाह! किनकि हाम्रा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले राज्य गर्नुहुन्छ,

7 हामी आनन्द मनाऔँ, खुशी होऔँ, र उहाँलाई महिमा दिऔँ! किनकि थुमाको विवाहको बेला आइपुगेको छ; अनि उहाँकी दुलहीले आफूलाई तयार पारेकी छिन्।

8 तिनलाई चहकिलो र स्वच्छ मलमलको कपडा पहिरनलाई दिइएको थियो।” मसिनो मलमलको कपडाले सन्तहरूको धार्मिक कार्यलाई जनाउँछ।

9 अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख: ‘थुमाको विवाहको भोजको निम्तो पाउनेहरू धन्यका हुन्!’ ” अनि तिनले अझ थपेर भने, “यी परमेश्‍वरका सत्य वचनहरू हुन्।”

10 अनि म तिनको पाउमा दण्डवत् गर्नलाई घोप्टो परेँ। तर तिनले मलाई भने, “यसो नगर! म येशूको गवाही कायम राख्ने तिमी र तिम्रा दाजुभाइ-दिदीबहिनीहरूझैँ एक जना सङ्गी-सेवक हुँ। परमेश्‍वरको मात्र आराधना गर! किनकि अगमवाणीका आत्माले नै येशूको गवाही बोकेका छन्।”


सेतो घोडामा सवार हुनुहुने

11 मैले स्वर्ग उघ्रिएको देखेँ, र मेरो सामु एउटा सेतो घोडा थियो, जसको सवारलाई विश्‍वासयोग्य र सत्य भनिन्छ। उहाँले निष्पक्षसित न्याय र लडाइँ गर्नुहुन्छ।

12 उहाँका आँखाहरू बल्दैगरेको आगोजस्ता छन्, र उहाँका शिरमा धेरै मुकुटहरू छन्। उहाँमा एउटा नाम लेखिएको छ, जो उहाँबाहेक अरू कसैले जान्दैन।

13 उहाँले रगतमा चोपिएको एउटा पोशाक पहिरिनुभएको छ; अनि उहाँको नाम परमेश्‍वरको वचन हो।

14 सेता घोडाहरूमा सवार भएका, मिहिन सेता र स्वच्छ मलमलको वस्त्र पहिरेका स्वर्गीय सेनाहरूले उहाँलाई पछ्याइरहेका थिए।

15 राष्ट्रहरूलाई प्रहार गर्न उहाँको मुखबाट एउटा धारिलो तरवार निस्केको छ। “उहाँले फलामको राजदण्डले तिनीहरूमाथि शासन गर्नुहुनेछ।” उहाँले सर्वशक्तिमान् परमेश्‍वरको क्रोधको मद्यको कोल कुल्चनुहुनेछ।

16 उहाँको वस्त्र र तिघ्रामा यो नाम लेखिएको छ: राजाहरूका राजा र प्रभुहरूका प्रभु।

17 अनि मैले एक जना स्वर्गदूतलाई सूर्यमा उभिरहेका देखेँ, जसले आकाशको बीचमा उडिरहेका चराहरूलाई चर्को सोरमा भनिरहेका थिए, “आओ, परमेश्‍वरको ठूलो भोजको लागि एकसाथ भेला होओ;

18 अनि तिमीहरूले राजाहरू, सेनापतिहरू, शक्तिशाली योद्धाहरू, घोडाहरू, त्यसका सवारहरू, स्वतन्त्र र सेवक-सेविकाहरू, ठूला-सानाहरू सबैका मासु खान पाउनेछौ।”

19 तब मैले त्यो पशु, पृथ्वीका राजाहरू, र तिनीहरूका सेनाहरूलाई त्यस घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसित युद्ध गर्नलाई एकसाथ भेला भएको देखेँ।

20 तर त्यो पशु पक्राउ पर्‍यो, र त्योसँगै त्यसको पक्षमा अचम्मका शक्तिशाली कामहरू गर्ने त्यो झूटा अगमवक्ता पनि, जसले यी अलौकिक चिन्हहरूद्वारा पशुको छाप लगाउने र त्यसको मूर्तिलाई आराधना गर्नेहरूलाई बहकाएको थियो। ती दुवै जलिरहेको गन्धकको अग्निकुण्डमा जिउँदै फालिए।

21 अरू बाँकी रहेकाहरूचाहिँ घोडामा सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए; अनि सबै चराहरूले तिनीहरूको मासु लुछ्दै खाए र अघाए।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy