Online Bible

- Reklamy -

प्रकाश 17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


पशुमाथि बसेकी स्त्री

1 सात वटा कचौराहरू भएका सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई भने, “आऊ, म तिमीलाई धेरै पानीहरूमाथि बस्‍ने महावेश्याको दण्ड देखाइदिनेछु।

2 त्यससित पृथ्वीका राजाहरूले व्यभिचार गरे, र त्यसको व्यभिचारको मद्यले पृथ्वीका बासिन्दाहरू मात्तिए।”

3 तब त्यस स्वर्गदूतले मलाई आत्माद्वारा एउटा उजाडस्थानमा लगे। त्यहाँ मैले एउटी स्त्रीलाई ईश्‍वरनिन्दाहरूको नामले भरिएको, सात शिर र दश सिङहरू भएको एउटा रातो पशुमाथि बसिरहेकी देखेँ।

4 त्यस स्त्रीले बैजनी र चहकिलो रातो वस्त्र पहिरेकी थिई; अनि सुन, रत्न र मोतीहरूले सिँगारिएकी थिई। त्यसले हातमा घिनलाग्दा कुरा अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला पक्रिएकी थिई।

5 त्यसको निधारमा लेखिएको नाम एउटा रहस्य थियो: पृथ्वीका वेश्याहरू र घृणित कुराहरूकी आमा, महान् बेबिलोन।

6 मैले त्यस स्त्रीलाई सन्तहरूको रगतले अर्थात् येशूको गवाही दिनेहरूका रगतले मात्तिएकी देखेँ। त्यसलाई देखेर म साह्रै अचम्मित भएँ।

7 तब ती स्वर्गदूतले मलाई भने: “तिमी किन चकित पर्छौ? म तिमीलाई त्यस स्त्री र त्यसलाई बोकेर हिँड्ने त्यो सात शिर र दश सिङ भएको पशुको रहस्य बताइदिनेछु।

8 तिमीले देखेको त्यो पशु कुनै समय थियो, तर अहिले छैन, र विनाशमा जानलाई अतल कुण्डबाट माथि निस्केर आउनेछ। संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा नाम नहुने पृथ्वीका बासिन्दाहरूले त्यस पशुलाई देखेर अचम्म मान्‍नेछन्; किनकि त्यो कुनै समय थियो, अब छैन, तर फेरि पछि आउनेछ।

9 “बुद्धि भएको दिमाग यस्तै बेला चाहिने हो। ती सात शिरहरू सात वटा पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बस्छे।

10 तिनीहरू सात जना राजाहरू पनि हुन्। पाँच जनाको पतन भइसकेको छ, एक जना छँदैछ, अर्कोचाहिँ अझ आइपुगेको छैन; तर जब त्यो आउँछ, उसको शासन केही समयको लागि रहनुपर्छ।

11 त्यो रातो पशु, जो एक समय थियो, र अहिले छैन, त्योचाहिँ आठौँ राजा हो। त्यो सातमध्येको एक जना हो, र त्यसको सर्वनाश हुनेछ।

12 “तिमीले देखेका ती दश सिङहरू दश राजाहरू हुन्, जसले अझसम्म राज्य पाएका छैनन्, तर तिनीहरूले त्यस पशुसित एक घडीको निम्ति राजाको झैँ अख्तियार पाउनेछन्।

13 तिनीहरूको लक्ष्य एउटै हुनेछ; अनि तिनीहरूले आफ्ना शक्ति र अख्तियार त्यस पशुलाई दिनेछन्।

14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन्, तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ; किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ; अनि उहाँसित उहाँद्वारा बोलाइएका र चुनिएका विश्‍वासयोग्य अनुयायीहरू हुनेछन्।”

15 तब स्वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जसमाथि त्यो वेश्या बस्छे, त्यो भनेको मानिस जातिहरू, भीडहरू, राष्ट्रहरू र भाषाहरू हुन्।

16 तिमीले देखेको त्यो पशु र दश सिङहरूले त्यस वेश्यालाई घृणा गर्नेछन्। तिनीहरूले त्यसलाई नष्‍ट गर्नेछन् र नाङ्गो पार्नेछन्; तिनीहरूले त्यसको मासु खानेछन् र आगोले जलाइदिनेछन्।

17 उहाँको वचन पूरा नहोउन्जेल तिनीहरूले त्यस पशुलाई आफ्ना राजकीय अख्तियार देऊन् भनी परमेश्‍वरले तिनीहरूका हृदयमा हालिदिनुभयो। यो नै परमेश्‍वरको उद्देश्य पूरा हुनु हो।

18 तिमीले देखेकी स्त्रीचाहिँ पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy