Online Bible

- Reklamy -

प्रकाश 12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


स्त्री र विशाल अजिङ्गर

1 एउटा ठूलो र अचम्मको चिन्ह स्वर्गमा देखियो: सूर्य ओढेकी, पाउमुनि चन्द्र भएकी र शिरमाथि बाह्र वटा ताराहरूको मुकुट लगाएकी एउटी स्त्री देखा परिन्।

2 उनी गर्भवती थिइन्, र सुत्केरी व्यथाको पीडाले गर्दा चिच्याइरहेकी थिइन्।

3 तब स्वर्गमा अर्को चिन्ह देखा पर्‍यो: सात शिरहरू, दश सिङहरू भएको र शिरहरूमा सात वटा मुकुटहरू भएको एउटा विशाल रातो अजिङ्गर।

4 त्यसको पुच्छरले आकाशका ताराहरूको तेस्रो भागलाई सोहोरेर पृथ्वीमा फाल्यो; अनि बच्‍चा जन्माउन लागेकी स्त्रीले बालक जन्माउनसाथ त्यसलाई खाइहाल्न भनेर त्यो अजिङ्गर त्यस स्त्रीको सामु उभियो।

5 ती स्त्रीले एउटा छोरालाई जन्म दिइन्, “जसले राष्ट्रहरूलाई फलामको राजदण्डले शासन गर्नेछ।” अनि तुरुन्तै तिनको बालक परमेश्‍वरकहाँ र उहाँको सिंहासन भएको ठाउँमा खोसेर लगियो।

6 तब ती स्त्री परमेश्‍वरले एक हजार दुई सय साठी दिनसम्म तिनको हेरचाहको लागि तयार पारेर राखिदिनुभएको ठाउँ उजाडस्थानतिर भागिन्।

7 तब स्वर्गमा लडाइँ सुरु भयो। स्वर्गदूत माइकल र तिनका दूतहरूले त्यस अजिङ्गरसित लडाइँ गरे, र अजिङ्गर र त्यसका दूतहरूले पनि तिनीहरूसँग लडाइँ गरे।

8 तर त्यो अजिङ्गर त्यति बलियो थिएन; त्यसैले तिनीहरूले स्वर्गका आफ्ना ठाउँहरू हारे।

9 त्यो विशाल अजिङ्गर तल फ्याँकियो। त्यो प्राचीन सर्प, जसलाई दियाबलस वा शैतान पनि भनिन्छ, जसले सारा पृथ्वीलाई बहकाउँछ। त्यो र त्यसका दूतहरू त्योसँगै पृथ्वीमा फ्याँकिए।

10 तब मैले स्वर्गमा यसो भनेको ठूलो आवाज सुनेँ: “अब हाम्रो परमेश्‍वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्‍टको अख्तियार आएका छन्। किनकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई दोष लगाउने, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।

11 तिनीहरूले त्यसलाई थुमाको रगतले र तिनीहरूका साक्षीको वचनले जितेका छन्; तिनीहरूले मृत्युसम्मै पनि आफ्ना जीवनलाई प्रेम गरेनन्।

12 यसकारण हे स्वर्गहरू र स्वर्गहरूमा बस्‍नेहरू हो, तिमीहरू रमाओ! तर पृथ्वी र समुद्रलाई धिक्‍कार! किनकि आफ्नो समय छोटो छ भन्‍ने थाहा पाएर दियाबलस ठूलो क्रोधसित तिमीहरूकहाँ तल आएको छ!”

13 जब त्यस अजिङ्गरले आफूलाई पृथ्वीमा फालिएको देख्यो, तब त्यसले छोरा जन्माउने त्यस स्त्रीलाई खेद्न थाल्यो।

14 ती स्त्रीलाई गरुडका दुई पखेटाहरू दिइयो, ताकि तिनी उजाडस्थानमा उडेर जान सकून्, जहाँ एक काल, दुई काल र आधा कालसम्मका लागि त्यस सर्पको पहुँचबाट बाहिर उनको हेरचाह होस् भनेर तयार पारिएको थियो।

15 तब ती स्त्रीलाई बाढीले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्नो मुखबाट नदीझैँ पानी निकाल्यो।

16 तर ती स्त्रीलाई सहायता गर्न पृथ्वीले आफ्नो मुख खोल्यो र त्यस अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदीलाई निलिदियो।

17 तर त्यो अजिङ्गर स्त्रीसित क्रोधित भयो, र उनका अरू सन्तानहरू जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छन्, र येशूको साक्षी दिन्छन्; तिनीहरूसित लडाइँ गर्न गयो। अनि त्यो अजिङ्गर समुद्रको किनारमा उभियो।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy