Online Bible

- Reklamy -

प्रकाश 1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


प्रस्तावना

1 येशू ख्रीष्‍टको प्रकाश, जो परमेश्‍वरले येशू ख्रीष्‍टलाई दिनुभयो, ताकि येशू ख्रीष्‍टका सेवकहरूले चाँडै हुन आउने कुराहरू देखून्। उहाँले आफ्ना दूत पठाएर यो आफ्नो सेवक यूहन्‍नालाई प्रकट गर्नुभयो;

2 तिनैले परमेश्‍वरको वचनको लागि र येशू ख्रीष्‍टको गवाहीको लागि आफूले देखेका सबै थोकहरूको विवरण दिए।

3 जसले यस अगमवाणीका वचनहरू ठूलो सोरमा पढेर सुनाउँछ, त्यो धन्यको हो; अनि यसलाई सुन्‍नेहरू र यसमा लेखिएका कुराहरू पालन गर्नेहरू धन्यका हुन्; किनकि समय नजिकै छ।


अभिवादन र स्तुति-प्रशंसा

4 यूहन्‍नाबाट, एशिया प्रान्तमा भएका सात वटा मण्डलीहरूलाई यो पत्र लेख्दैछु: उहाँबाट तिमीहरूमा अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुनआउनुहुनेछ, र उहाँको सिंहासनको अगि भएका सात आत्माहरूबाट;

5 अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले नै आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो;

6 अनि उहाँका परमेश्‍वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य र पुजारी बनाउनुभयो; उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा भइरहोस्! आमेन।

7 “हेर, उहाँ बादलहरूका साथमा आउँदैहुनुहुन्छ”; अनि “हरेक आँखाले उहाँलाई देख्नेछ, तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए” अनि पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।” यस्तै होस्! आमेन।

8 सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “म नै अल्फा र ओमेगा हुँ” जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ।


ख्रीष्‍टको बारेमा यूहन्‍नाको दर्शन

9 म यूहन्‍ना, तिमीहरूका भाइ, येशूमा भएका हाम्रा कष्‍टमा, राज्यमा र धीरजपूर्वक लागिपर्ने सहकर्मी हुँ; परमेश्‍वरको वचन र येशूको गवाहीको कारण म पत्मोस टापुमा थिएँ।

10 प्रभुको दिनमा म आत्मामा थिएँ, र मेरो पछिल्तिर मैले तुरहीको जस्तै एउटा चर्को आवाज सुनेँ,

11 जसले यसो भन्यो: “तिमी जे देख्छौ, त्यो एउटा पुस्तकमा लेख, र त्यसलाई सातै वटा मण्डलीहरू अर्थात्, एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा पठाऊ।”

12 अनि मसित बोल्नेलाई हेरूँ भनेर म फर्केँ। जब म पछिल्तिर फर्केँ, तब मैले सुनका सात वटा सामदानहरू देखेँ;

13 अनि सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाउनुभएको र छातीमा सुनौलो चौडा पेटी लाएको “मानिसको पुत्रजस्तै,” एक जनालाई देखेँ।

14 उहाँको शिरको कपाल ऊनजस्ता सेता, हिउँजस्तै सेता, र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता बलेका थिए।

15 उहाँका पाउहरू आगोका भट्टीमा खारेर टल्काएका काँसाजस्तै चम्केका थिए, र उहाँको सोरचाहिँ बेगसित उर्लेको पानीको आवाजजस्तो थियो।

16 अनि उहाँको दाहिने हातले सात वटा ताराहरू पक्रिराखेको थियो; अनि उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहारचाहिँ पूरा तेजसित चम्केको सूर्यझैँ थियो।

17 जब मैले उहाँलाई देखेँ, तब म मरेतुल्य भएर उहाँको पाउमा परेँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्‍नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ।

18 जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, र हेर, म सदासर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।

19 “यसकारण तिमीले जे देखेका छौ, अहिले जे छ, र यसपछि के हुनेछ, सो लेख।

20 तिमीले मेरो दाहिने हातमा देखेका सात वटा ताराहरू र सात वटा सुनका सामदानहरूको रहस्य यो हो: सात वटा ताराहरू सात मण्डलीका दूतहरू हुन्, र सात वटा सामदानहरू सात मण्डलीहरू हुन्।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy