Online Bible

- Reklamy -

भजनसंग्रह 5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 5
सङ्गीत निर्देशकको निम्ति बाँसुरीसहित गाइने, दावीदको भजन।

1 हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्; मेरो सुस्केरामा ध्यान दिनुहोस्।

2 हे मेरा राजा, मेरा परमेश्‍वर, सहायताको निम्ति मेरो पुकार सुनिदिनुहोस्; किनकि तपाईंलाई म प्रार्थना गर्दछु।

3 हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुन्छ; सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु, र आशामा प्रतीक्षा गर्दछु।

4 तपाईं दुष्‍टतासँग प्रसन्‍न हुनुहुने परमेश्‍वर हुनुहुन्‍न; दुष्‍ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्।

5 घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्। दुष्‍ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ।

6 झूटो बोल्नेहरूलाई तपाईंले नष्‍ट पार्नुहुन्छ; रक्तपात गर्ने र छलीहरूलाई तपाईं याहवेहले घृणा गर्नुहुन्छ।

7 तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा तपाईंको भवनभित्र आउनेछु; तपाईंको पवित्र मन्दिरतिर म श्रद्धासाथ दण्डवत् गर्नेछु।

8 हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्‍याउनुहोस्; मेरा शत्रुहरूका कारण, तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्।

9 तिनीहरूका मुखका एउटै शब्दमा पनि सत्यता छैन; तिनीहरूका हृदय विनाशले भरिएको छ। तिनीहरूका घोक्रो खुल्‍ला चिहानजस्तै छ; तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।

10 हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्; तिनीहरूका आफ्नै जाल पतनको कारण होस्। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्; किनकि तिनीहरूले तपाईंका विरुद्धमा विद्रोह गरेका छन्।

11 तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्; र तिनीहरू आनन्दले गीत गाऊन्। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्; र तपाईंको नामलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।

12 निश्‍चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ; तपाईंले ढाललेझैँ, तपाईंको कृपादृष्‍टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy