Online Bible

- Reklamy -

भजनसंग्रह 40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 40
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1 मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ; उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्‍नुभयो।

2 उहाँले मलाई खाडलबाट, दलदले हिलोबाट तानेर निकाल्नुभयो; उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो; र मलाई उभिन स्थिर स्थान दिनुभयो।

3 उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो; हाम्रा परमेश्‍वरका प्रशंसाको एउटा गीत। धेरै जनाले यो देख्नेछन्, र याहवेहको भय मान्‍नेछन्, र उहाँमाथि भरोसा राख्नेछन्।

4 धन्य हो त्यो मानिस, जसले याहवेहमा आफ्नो भरोसा राख्दछ, जसले घमण्डीहरूमा भरोसा राख्दैनन्, जो झूटो देवहरूपट्टि लाग्दैनन्।

5 हे याहवेह, मेरा परमेश्‍वर, तपाईंले गर्नुभएका अद्‌भुत कार्यहरू धेरै छन्; तपाईंले हाम्रो निम्ति गर्नुभएका योजनाहरू धेरै छन्। तपाईंको तुलना कसैसँग गर्न सकिँदैन; मैले तपाईंका कामहरूका बारेमा वर्णन गर्नुपर्‍यो भने, ती घोषणा गर्न असंख्य हुनेछन्।

6 तपाईंले बलिदान र भेटी चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ, तपाईंले होमबलि र पाप शुद्धीकरण बलि चाहनुभएन।

7 तब मैले भनेँ, “हेर्नुहोस्, म आएको छु, धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ।

8 म तपाईंको इच्छा पूरा गर्न चाहन्छु, हे मेरा परमेश्‍वर; तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”

9 म ठूलो महासभामा तपाईंको धार्मिकताको घोषणा गर्छु; म मेरा ओठहरू बन्द गर्नेछैनँ; हे याहवेह, तपाईंले यो जान्‍नुहुन्छ।

10 तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ; तपाईंको विश्‍वासयोग्यता र तपाईंको मुक्तिको विषयमा म बोल्छु। तपाईंको अचुक प्रेम र तपाईंको सत्यता म ठूलो महासभामा लुकाउँदिनँ।

11 हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्; तपाईंको अचुक प्रेम र तपाईंको विश्‍वासयोग्यताले मलाई निरन्तर रक्षा गरून्।

12 किनकि असंख्य कष्‍टहरूले मलाई चारैतिर घेरेका छन्; मेरा अपराधहरू यतिसम्म थुप्रिएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढी छन्; यसैले मेरो हृदय हताश भएको छ।

13 हे याहवेह, मलाई बचाउन प्रसन्‍न हुनुहोस्; हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्!

14 मेरो प्राण लिन खोज्नेहरू सबै जना शर्ममा र अन्योलमा परून्; मेरो विनाश चाहनेहरू सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्!

15 मलाई “खुच्‍चिङ! खुच्‍चिङ!” भन्‍नेहरू सबै लाजले गर्दा व्याकुल होऊन्।

16 तर तपाईंलाई खोज्नेहरू सबै, तपाईंमा रमाऊन् र आनन्दित होऊन्; तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्, “याहवेह महान् हुनुहुन्छ!”

17 तर म त गरिबी र अभावमा छु; प्रभुले मेरो बारेमा विचार गरिदिनुहोस्। तपाईं मेरा सहायक र मलाई छुटाउने हुनुहुन्छ; हे मेरा परमेश्‍वर, ढिलो नगर्नुहोस्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy