Online Bible

- Reklamy -

भजनसंग्रह 39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 39
सङ्गीत निर्देशकको निम्ति, यदूतूनको लागि, दावीदको भजन।

1 मैले भनेँ, “म आफ्नो चालचलनमा होसियार रहनेछु, र मेरो जिब्रोलाई पापबाट रोक्नेछु; दुष्‍टहरूको उपस्थितिमा, म आफ्नो मुखमा मोहोलो लगाएर बस्‍नेछु।”

2 तर जब मैले पूर्ण मौन धारण गरेँ, तब असल कुरा पनि बोलिनँ, तर मेरो पीडा झन् बढेर गयो।

3 मेरो हृदय मभित्र जलिरह्‍यो; मैले मनन गर्दा, आगो दन्कियो; तब मैले मेरो जिब्रोले बोलेँ:

4 “हे याहवेह, मेरो जीवनको अन्त्य देखाउनुहोस्, र मेरो जीवन अब कति दिन बाँकी छ; मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्‍न दिनुहोस्!

5 तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ; तपाईंको दृष्‍टिमा मेरो जीवनको आयु नगण्य छ। हरेक मानिसको जीवन एक मुट्ठी सास मात्र हो; तिनीहरूको पनि जसले आफूलाई सुरक्षित सम्झन्छन्। सेला

6 “निश्‍चय नै हरेक मानिस एउटा छायाजस्तै हिँड्‍डुल गर्छ; व्यर्थमा तिनीहरू धनसम्पत्ति थुपार्न हतार गर्छन्; तर त्यो अन्त्यमा कसको हुन्छ, सो जान्दैनन्।

7 “हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ? मेरो आशा त तपाईंमा नै छ।

8 मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्; मलाई मूर्खहरूको अपमानको पात्र नबनाउनुहोस्।

9 म मौन थिएँ; मैले मेरो मुख खोलिनँ; किनकि त्यो गर्ने तपाईं नै हुनुहुन्छ।

10 तपाईंको विपत्ति मबाट हटाउनुहोस्; तपाईंको हातको मुक्‍काबाट म पराजित भएको छु।

11 जब तपाईंले मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ; तब तपाईंले तिनीहरूका धनसम्पत्ति धमिरालेझैँ नष्‍ट पार्नुहुन्छ— साँच्‍चै, हरेक मानिस एक मुट्ठी सास मात्र हो। सेला

12 “हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्, मदतको निम्ति मैले गरेको पुकार सुनिदिनुहोस्; मेरो आँसुलाई त्यसै नटारिदिनुहोस्; किनकि प्रवासीझैँ म तपाईंमा आश्रित छु, मेरा सबै पुर्खाहरूजस्ता थिए, त्यस्तै नै एक परदेशी हुँ।

13 मेरो अन्त हुनुभन्दा अगि नै मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्, ताकि म फेरि हर्षित हुन सकूँ।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy