Online Bible

- Reklamy -

भजनसंग्रह 36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 36
सङ्गीत निर्देशकको निम्ति, याहवेहको सेवक दावीदको भजन।

1 दुष्‍टका पाप सम्बन्धी, मेरो हृदयमा परमेश्‍वरको एक सन्देश छ: तिनीहरूका आँखामा परमेश्‍वरको डर छैन।

2 तिनीहरूले आफूलाई आफ्नो नजरमा उच्‍च ठान्छन्, तिनीहरूले आफ्ना अधर्म फेला पार्दैनन् वा आफ्ना पाप घृणा गर्दैनन्।

3 तिनीहरूका मुखका शब्दहरू दुष्‍ट र छली छन्; तिनीहरू बुद्धिमानी हुन र भलाइको काम गर्न चुकेका छन्।

4 तिनीहरूले आफ्ना ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछन्; तिनीहरूले आफूलाई कुमार्गतिर लगाउँछन्; र तिनीहरूले खराबीलाई इन्कार गर्दैनन्।

5 हे याहवेह, तपाईंको अचुक प्रेम स्वर्गैसम्म फैलिएको छ, तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै छ।

6 तपाईंको धार्मिकता परमेश्‍वरका अति उच्‍च पहाडहरू जस्तै छन्; तपाईंको न्याय गहिरो समुद्रजस्तै छ। हे याहवेह, तपाईंले मानिस र पशुपक्षीलाई जोगाइराख्नुहुन्छ।

7 हे परमेश्‍वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ! मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्।

8 तिनीहरू तपाईंका भवनको प्रशस्तताबाट भोज गर्छन्; तपाईंको आनन्दको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।

9 किनकि जीवनको स्रोत तपाईंसँग छ; तपाईंको ज्योतिमा हामी उज्यालो देख्छौँ।

10 तपाईंलाई चिन्‍नेहरूमा तपाईंको प्रेम र सोझो हृदय भएकाहरूमा तपाईंको धार्मिकता निरन्तर रहिरहोस्।

11 अहङ्कारीको खुट्टा मेरो विरुद्धमा मलाई कुल्चन नआओस्, न त दुष्‍टका हातले मलाई भगाउन पाओस्।

12 दुष्कर्मीहरू कसरी लम्पसार परेर लडेका छन्; तिनीहरू उठ्नै नसक्ने गरी फ्याँकिएका छन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy