Online Bible

- Reklamy -

भजनसंग्रह 34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 34
अबीमेलेकको सामु बौलाहा हुँ भनी दावीदले बहाना गरेको र तिनीद्वारा उनलाई धपाइएको समयको दावीदको भजन।

1 हर समय म याहवेहलाई स्तुति गर्नेछु; उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ।

2 याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ; कष्‍टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्।

3 मसँगसँगै याहवेहको महिमा गर; हामी मिलेर उहाँको नामलाई उच्‍च पारौँ।

4 मैले याहवेहको खोजी गरेँ; र उहाँले मलाई जवाफ दिनुभयो, उहाँले मेरा सबै डरहरूबाट मलाई छुटाउनुभयो।

5 उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्; तिनीहरूका अनुहार कहिल्यै शर्ममा पर्दैन।

6 यस गरिब मानिसले याहवेहलाई पुकार गर्‍यो, र उहाँले त्यसलाई सुन्‍नुभयो; उहाँले त्यसका सबै सङ्कष्‍टहरूबाट बचाउनुभयो।

7 याहवेहका स्वर्गदूतहरूले उहाँको डर मान्‍नेहरूका चारैतिर सुरक्षाको घेरा लगाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ।

8 याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ! धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्।

9 हे याहवेहका पवित्र जनहरू हो, उहाँको डर मान; किनकि उहाँको डर मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।

10 जवान सिंहहरू कमजोर हुन सक्छन् र तिनीहरू भोकाउन सक्छन्; तर याहवेहको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन।

11 हे मेरा बालबालिकाहरू हो, आओ र मेरा कुरा सुन। म तिमीहरूलाई याहवेहको भय सिकाउनेछु।

12 तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ, दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने

13 आफ्नो जिब्रोलाई खराब कुरादेखि र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख!

14 दुष्‍टताबाट अलग बस र भलाइ गर; शान्ति खोज, र त्यसको पछि लाग।

15 याहवेहको नजर धर्मीहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका पुकार सुन्‍नलाई खुल्‍ला हुन्छन्।

16 तर याहवेहको अनुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ, अनि उहाँले तिनीहरूको स्मृतिसमेत धर्तीबाट मेटाइदिनुहुन्छ।

17 धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्‍नुहुन्छ; तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।

18 याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ, र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।

19 धर्मी मानिसलाई धेरै विपत्तिहरू आइलाग्दछन्, तर याहवेहले त्यसलाई ती सबै विपत्तिबाट उद्धार गर्नुहुन्छ;

20 याहवेहले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ; तिनमा एउटै हाड पनि भाँचिनेछैन।

21 खराबीले दुष्‍टलाई मार्दछ; धर्मी जनका शत्रुहरूचाहिँ दोषी ठहरिनेछन्।

22 याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ; उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy