Online Bible

- Reklamy -

भजनसंग्रह 28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 28
दावीदको भजन।

1 हे याहवेह, म तपाईंलाई पुकार्दछु; तपाईं मेरा चट्टान हुनुहुन्छ, मेरो पुकार नसुनेजस्तो नगर्नुहोस्; किनकि यदि तपाईं मौन रहनुभयो भने, म चिहानमा पर्नेहरूजस्तै हुनेछु।

2 मेरा हातहरू तपाईंको महा-पवित्रस्थानतर्फ पसार्दा, मदतको निम्ति मैले तपाईंलाई पुकार्दा, तपाईंको कृपाको निम्ति मेरो पुकार सुन्‍नुहोस्।

3 मलाई दुष्‍टहरूसित मर्नलाई नलैजानुहोस्; ती दुष्‍ट काम गर्नेहरूसित, जो छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्छन्, तर तिनीहरूका हृदयमा भने उनीहरूलाई क्षति पुर्‍याउने योजना गर्छन्।

4 तिनीहरूका काम र तिनीहरूले गरेका दुष्‍ट कामअनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस्; तिनीहरूका हातका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहोस्; र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस्।

5 किनकि तिनीहरूले याहवेहका कामहरू, र उहाँका हातले गरेका कामहरूको इज्जत गर्दैनन्; उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिनीहरूलाई फेरि पुनर्निर्माण गर्नुहुनेछैन।

6 याहवेहलाई प्रशंसा होस्; किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्‍नुभएको छ।

7 याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ; मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ; मेरो हृदय आनन्दले उफ्रन्छ, र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।

8 याहवेह आफ्नो प्रजाको निम्ति शक्ति हुनुहुन्छ, र आफ्नो अभिषिक्त जनको निम्ति मुक्तिको किल्‍ला हुनुहुन्छ।

9 तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्; तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy