Online Bible

- Reklamy -

भजनसंग्रह 27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 27
दावीदको भजन।

1 याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ; मैले कसको भय मान्‍नु? याहवेह नै मेरो जीवनको किल्‍ला हुनुहुन्छ; म कोसँग भयभीत हुनु?

2 जब दुष्‍टहरू मलाई आक्रमण गर्न मेरो विरुद्धमा अगि बढ्छन्, जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्; तब तिनीहरू ठक्‍कर खाएर लड्नेछन्।

3 सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैनँ; मेरो विरुद्धमा लडाइँ चले तापनि त्यस बेलामा पनि म पूरा निर्धक्‍क रहनेछु।

4 याहवेहसँग म एउटै कुरा माग्दछु, म त्यसैको मात्र खोजी गर्दछु: कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ, उहाँको सुन्दरता हेर्न पाऊँ, र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।

5 किनकि सङ्कष्‍टका दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ; उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ; र एउटा चट्टानमाथि उच्‍च राख्नुहुनेछ।

6 तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्‍च पारिनेछ; उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु; म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु।

7 हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्‍नुहोस्; ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्।

8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु।

9 मबाट तपाईंको मुहार नलुकाउनुहोस्; तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्; तपाईं मेरा सहायक हुनुभएको छ। हे परमेश्‍वर, मेरा मुक्तिदाता, मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्।

10 मेरा बुबाआमाले मलाई त्यागे तापनि याहवेहले मलाई सम्हाल्नुहुनेछ।

11 हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्; र मलाई अत्याचार गर्ने मानिसहरूको कारण, मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्।

12 मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्; किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्, तिनीहरू खराब आरोप लगाउँछन्।

13 म यसमा अझ विश्‍वस्त छु: म जीवितहरूको देशमा याहवेहको भलाइ देख्नेछु।

14 याहवेहको प्रतीक्षा गर; बलियो र हृदयमा साहसिलो होऊ; र याहवेहको प्रतीक्षा गर।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy