भजनसंग्रह 26 - पवित्र बाइबल नेपाली समकालीन संस्करणभजन 26 दावीदको भजन। 1 हे याहवेह, मलाई निर्दोष प्रमाणित गर्नुहोस्; किनकि मैले दोषरहित जीवन जिएको छु; ढलपल नभइकन मैले याहवेहमा भरोसा राखेको छु। 2 हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्। मेरो हृदय र मन जाँचेर हेर्नुहोस्; 3 किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ; र म तपाईंको विश्वासयोग्यतामा हिँडेको छु। 4 म छली मानिसहरूसँग बस्दिनँ, न त पाखण्डीहरूसँग म सङ्गत गर्छु। 5 कुकर्मीहरूको झुण्डलाई म घृणा गर्दछु; म दुष्ट काम गर्नेहरूसँग बस्न इन्कार गर्दछु। 6 हे याहवेह, म आफ्ना हात निर्दोषतामा धुन्छु, र तपाईंका वेदीको परिक्रमा गर्दछु। 7 उच्च सोरले म तपाईंको प्रशंसाको घोषणा गर्दछु, र म तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्दछु। 8 हे याहवेह, तपाईंको वासस्थान, र तपाईंको महिमा रहने ठाउँलाई म प्रेम गर्दछु। 9 पापीहरूसँग मेरो प्राण, रक्तपिपासुहरूसँग मेरो जीवन नलिनुहोस्; 10 जसका हातहरू दुष्ट योजनाहरूले भरिएका छन्, र जसका दाहिने हात घूसले भरिएका छन्। 11 तर म त निर्दोष जीवन जिउँछु; मेरो उद्धार गर्नुहोस् र ममाथि कृपालु हुनुहोस्। 12 मेरा खुट्टाहरू समतल ठाउँमा खडा छन्; ठूलो महासभामा म याहवेहको प्रशंसा गर्नेछु। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.