भजनसंग्रह 25 - पवित्र बाइबल नेपाली समकालीन संस्करणभजन 25 दावीदको भजन। 1 हे याहवेह, मेरा परमेश्वर, म मेरो भरोसा तपाईंमा राख्दछु। 2 म तपाईंमा भरोसा गर्दछु; मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्। 3 तपाईंमा आशा राख्ने कोही पनि कहिल्यै शर्ममा पर्नेछैन, तर कारणविना विश्वासघात गर्नेहरू भने शर्ममा पर्नेछन्। 4 हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्; मलाई तपाईंका मार्गहरूका शिक्षा दिनुहोस्, 5 मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्; किनकि तपाईं मेरा मुक्तिदाता परमेश्वर हुनुहुन्छ, अनि मेरो आशा दिनभरि नै तपाईंमा राख्दछु। 6 हे याहवेह, तपाईंका महान् करुणा र प्रेमको स्मरण गर्नुहोस्, किनकि ती प्राचीनकालदेखि नै भएका छन्। 7 मेरा जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं भलो हुनुहुन्छ। 8 याहवेह भलो र धर्मी हुनुहुन्छ। यसैकारण उहाँले पापीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ। 9 उहाँले नम्रहरूलाई ठिक कुरामा अगुवाइ गर्नुहुन्छ, र तिनीहरूलाई उहाँका मार्गहरू सिकाउनुहुन्छ। 10 याहवेहका करारका शर्तहरू पालन गर्नेहरूप्रति उहाँका सबै मार्गहरू प्रेमिलो र विश्वासयोग्य हुन्छन्। 11 हे याहवेह, तपाईंको नामको खातिर, मेरो अपराध क्षमा गरिदिनुहोस्, किनकि मेरो यो अपराध अति ठूलो छ। 12 तब याहवेहको भय कसले मान्दछ? उहाँले तिनीहरूलाई कुन मार्गको छनौट गर्ने भन्ने शिक्षा दिनुहुनेछ। 13 तिनीहरूले आफ्ना जीवन समृद्धिमा बिताउनेछन्, र तिनीहरूका सन्ततिले देशमा अधिकार गर्नेछन्। 14 उहाँको भय मान्नेहरूसँग याहवेहले मित्रता राख्नुहुन्छ, उहाँले तिनीहरूलाई आफ्नो करार बताउनुहुन्छ। 15 मेरा आँखाहरू सधैँ याहवेहमा रहन्छन्, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाउनुहुनेछ। 16 हे याहवेह, मतिर फर्कनुहोस् र ममाथि कृपालु हुनुहोस्, किनकि म एकलो र पीडित छु। 17 मेरा हृदयका कष्टहरू ज्यादै बढेका छन्; मेरा पीडाहरूबाट मलाई छुटकारा दिनुहोस्। 18 मेरा दुःख र मेरा पीडाहरूलाई हेर्नुहोस्, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्। 19 हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै भएका छन्, र कति भयानक रीतिले मलाई तिनीहरू घृणा गर्दछन्। 20 मेरो प्राणलाई रक्षा गर्नुहोस् र मेरो उद्धार गर्नुहोस्; मलाई शर्ममा नपार्नुहोस्, किनकि म तपाईंमा शरण पर्छु। 21 इमानदारीता र धार्मिकताले मेरो रक्षा गरून्, किनकि मेरो आशा याहवेह तपाईंमा छ। 22 हे परमेश्वर, इस्राएललाई तिनीहरूका सबै कष्टहरूबाट मुक्त गरिदिनुहोस्! |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.