भजनसंग्रह 24 - पवित्र बाइबल नेपाली समकालीन संस्करणभजन 24 दावीदको भजन। 1 पृथ्वी र यसमा भएका सबै थोक, यो संसार र यसमा बास गर्ने सबै प्राणीहरू याहवेहकै हुन्; 2 किनकि उहाँले पृथ्वीलाई समुद्रमाथि बसाल्नुभयो, र पानीमाथि स्थापित गर्नुभयो। 3 याहवेहको डाँडामा को उक्लिन सक्ला? उहाँको पवित्रस्थानमा को उभिन सक्ला? 4 त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ; जसले मूर्तिमाथि भरोसा राख्दैन, अथवा जसले झूटो ईश्वरको नाममा शपथ खाँदैन। 5 तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्, र मुक्तिदाता परमेश्वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ। 6 उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले तपाईंको दर्शन खोज्दछन्, हे याकोबका परमेश्वर। सेला 7 हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार; हे सनातनका द्वारहरू हो, आफ्ना शिर उठाओ, ताकि महिमाका महाराजा प्रवेश गरून्। 8 यी महिमाका राजा को हुनुहुन्छ? याहवेह, जो बलियो र शक्तिशाली हुनुहुन्छ, याहवेह, जो लडाइँमा पराक्रमी हुनुहुन्छ। 9 हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार; हे सनातनका ढोकाहरू हो, आफ्ना शिर उठाओ; ताकि महिमाका महाराजा प्रवेश गरून्। 10 महिमाका यी राजाचाहिँ को हुनुहुन्छ? सेनाहरूका याहवेह— उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.