Online Bible

- Reklamy -

भजनसंग्रह 20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 20
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1 याहवेहले तपाईंको सङ्कष्‍टको दिनमा तपाईंलाई उत्तर देऊन्; याकोबका परमेश्‍वरका नामले तपाईंलाई सुरक्षा गरून्।

2 उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्, र सियोनबाट तपाईंलाई सहारा देऊन्।

3 उहाँले तपाईंका सारा बलिदानहरू स्मरण गरून्, र तपाईंका होमबलिहरू ग्रहण गरून्। सेला

4 उहाँले तपाईंको मनको इच्छा पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गरून्।

5 तपाईंको विजयमा हामी आनन्दले कराउनेछौँ, र हाम्रा परमेश्‍वरका नाममा हामी आफ्ना झण्डाहरू उच्‍च पार्नेछौँ। याहवेहले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्।

6 अब मलाई थाहा भयो: याहवेहले आफ्ना अभिषिक्त जनलाई विजय दिनुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धारको शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट अभिषिक्त जनलाई जवाफ दिनुहुन्छ।

7 कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्, तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको नाममा भरोसा गर्दछौँ।

8 तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्, तर हामीहरूचाहिँ खडा हुनेछौँ र सीधा उभिनेछौँ।

9 हे याहवेह, राजालाई विजय गराउनुहोस्! हामीले पुकार गर्दा हामीलाई जवाफ दिनुहोस्!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy