Online Bible

- Reklamy -

भजनसंग्रह 19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 19
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1 आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्दछ; अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्।

2 हरेक दिनले अर्को दिनसँग परमेश्‍वरको महिमाको चर्चा गर्दछ; हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ।

3 तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्; तिनीहरूबाट कुनै सोर सुनिँदैन।

4 तरै पनि तिनीहरूका सोर सारा पृथ्वीभरि पुग्दछ; तिनीहरूका आवाज संसारको अन्त्यसम्म पुगेका छन्। परमेश्‍वरले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ।

5 जुनचाहिँ विवाह-मण्डपबाट निस्केको दुलहाझैँ छ, दौडमा दौडिने धावकको विजयमा झैँ रमाउँछ।

6 त्यो आकाशको एक कुनाबाट उदाउँछ, र अर्को कुनासम्म चक्‍कर लगाउँछ; त्यसको तापबाट कुनै कुरो लुकिरहन सक्दैन।

7 याहवेहका व्यवस्थाहरू सिद्ध छन्, प्राणलाई ताजा गराउने, याहवेहका कानुनहरू विश्‍वासयोग्य छन्; सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।

8 याहवेहका नियमहरू ठिक छन्, हृदयलाई आनन्दित गराउने, याहवेहका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई ज्योति दिने।

9 याहवेहको भय स्वच्छ छ, अनन्तकाल सम्मै स्थिर रहिरहने; याहवेहका उर्दीहरू अटल छन्, ती सबै धार्मिक सत्य छन्।

10 ती सुनभन्दा पनि ज्यादै बहुमूल्य, निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्; ती महभन्दा मिठा, चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्।

11 तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ; ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ।

12 तर कसले आफ्ना भूलहरू छुट्ट्याउन सक्छन्? मेरा गुप्‍त दोषहरू क्षमा गरिदिनुहोस्!

13 आफ्नै स्वइच्छाले गरेका पापहरूबाट तपाईंले आफ्नो सेवकलाई जोगाउनुहोस्; ममाथि ती प्रभुत्व हुन नपाओस्; अनि म दोषरहित र घोर अपराधहरूबाट निर्दोष हुनेछु।

14 हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक! मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यान तपाईंका दृष्‍टिमा ग्रहणयोग्य हुन सकून्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy