Online Bible

- Reklamy -

भजनसंग्रह 16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 16
दावीदको मिक्ताम।

1 हे मेरा परमेश्‍वर, मलाई रक्षा गर्नुहोस्; किनकि मैले तपाईंमा शरण लिएको छु।

2 मैले याहवेहलाई भने, “तपाईं मेरा प्रभु हुनुहुन्छ; तपाईंबाहेक मसँग अरू कुनै असल कुरो छैन।”

3 पृथ्वीमा भएका भक्तजनहरू चाहिँ, “तिनीहरू नै आदर्श छन्; र तिनीहरूमा नै मेरो पूरा आनन्द छ।”

4 अरू देवताहरूको पछि लाग्नेहरूको दुःख बढ्दैजानेछ। म ती देवताहरूलाई रक्तबलि चढाउनेछैनँ। न त तिनीहरूका नाम मेरो ओठले उच्‍चारण गर्नेछ।

5 हे याहवेह, तपाईं नै मेरो हिस्सा र कचौरा हुनुहुन्छ; तपाईंले नै मेरो भाग सुरक्षित राखिदिनुभएको छ।

6 सिमानाका रेखाहरू मेरो मनपर्ने ठाउँमा परेका छन्; साँच्‍चै नै मलाई मनपर्ने पैतृक सम्पत्ति पाएको छु।

7 यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ; रातमा पनि मेरो हृदयले मलाई निर्देशन दिन्छ।

8 म मेरो आँखा सधैँ याहवेहमा राख्दछु, उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।

9 यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ।

10 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन; न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।

11 जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy